वर्षासँगै निद्रा हराएका पासकुण्डवासीको पीडा

हिमालय टाइम्स
Read Time = 7 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको समेत कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । पाल्पाको तिनाउ गाउँपालिका-२ का अधिकांश स्थानीयहरूलाई असार-साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बर्खाको समयमा माथिबाट बग्ने भलका कारण घर नै भत्किने र पुरिने डरका कारण यहाँका वासिन्दाहरूलाई रातमा निद्रा नै पर्दैन ।

पास कुण्डाका सन्तोष सोमै राम्रोसँग ननिदाएको धरै दिनभयो । घरको माथिल्लो भागबाट पहिरो सिधै घरमा आउने डरले उहाँ रातभर निदाउनुहुन्न । पानी पर्नेबित्तिकै सोमै परिवारसहित घर छाडेर आफन्तकोमा बास बस्न पुग्नुुहुन्छ । उहाँको घर चिराचिरा परेको छ । घरको भित्र जान सकिने अवस्था छैन । पानी नपर्दा उहाँको परिवार चिराचिरा परेको घरको पिँढीमा सुत्छन् । पानी पर्दा भने गोठमा सुत्ने गरेको सोमै बताउनुहुन्छ । माथिल्लो सुकेताल गाउँबाट खेत भएको स्थानमा नयाँ घर बनाएर बस्नुभएका सोमैलाई अहिले पहिरोको त्रास छ । घर नजिकै भासिइसकेको छ भने घरसमेत चिराचिरा परेको अवस्थामा छ । ‘पानी ठूलो परेमा घर नै भत्किने होकी भन्ने डर छ,’ उहाँले भन्नुभयो, ‘अहिले पनि पानी पर्‍यो कि निद्रै लाग्दैन ।’ ‘आकाश गर्जिन थाल्यो भने मन नै सिरिंग हुन्छ, दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ कि भन्ने लाग्छ’, सोमै दुःखेसो पोख्नुहुन्छ ।

निशा आचार्यको घर पनि भासिएको छ, भने तीन रोपनी खेतसमेत बगरमा परिणत भएको छ । खानीबाट आएको ढुंगासहितको भेलले उहाँको घर खेतमा क्षति पुर्‍याएको हो । उहाँलाई पनि पानी पर्न साथ चिन्ता पर्छ । ‘बासका लागि भएको पुरानो घरसमेत भासिएको छ’ आचार्यले भन्नुभयो, ‘गरिबलाई दैवले पनि अन्याय गर्दो रहेछन् अब जाने ठाउँ छैन, भएको एउटा सानो घर भत्किन आँटेको छ, साना छोराहरू लिएर कहाँ जाने ?’ दैविक विपत्तिको सामना गर्दा आफन्तसमेत पराई हुने गरेको आचार्यले गुनासो पोख्नुभयो ।

स्थानीय तहको निर्वाचनमा हामीले पहिरोबाट बचाउँछौँ भनि राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको उहाँको गुनासो छ । ‘पानी पर्नेबित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ’, आचार्य भन्नुहुन्छ ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । यहाँका आठ/दश घरपरिवार पहिरोको जोखिममा छन् । वस्तीमाथि अल्फा सिमेन्ट खानीमा दैनिक गुड्ने टिपर र खानी क्षेत्रबाट आएको भलका कारण यहाँको बस्ती जोखिममा परेको हो । सिमेन्ट उद्योगका लागि कच्चा पद्धार्थ उत्खनन् गर्ने गरेका कारण पनि बर्खामा यहाँ समस्या हुने गरेको छ । पासकुण्ड गाउँको तल्लो क्षेत्रमा दोभान कचल खोलाले निरन्तर कटान गरेको छ । माथिल्लो भेगबाट पहाडै भासिएर बस्ती जोखिममा छ ।

कचल जाने सडकको तल्लो भाग तीन वर्षदेखि भासिँदै गए पनि त्यसतर्फ कसैले पनि ध्यान दिएका छैनन् । यही सडक भएर सर्वोत्तम चुनढुंगा खानी कचल जान्छ । अत्याधिक भार बोकेका टिपरका कारण सडकको छेउ भासिएको छ । यहाँबाट बर्खामा माटो बस्तीमा खस्ने गरेका कारण दिगो रूपमा ढल व्यवस्थापन हुन नसक्दा वस्ती जोखिममा परेको हो । अत्यन्तै कमजोर भूभाग रहेको यहाँको बस्तीमा खानी क्षेत्रबाट आएको भलका कारण घर, विद्यालय नै भासिने र चर्कने क्रम बढेको छ । खानीबाट आउने वर्षातको भलका कारण यहाँका खेतियोग्य उर्वर भूमि बगरमा परिणत भएका छन् । दोभान पासकुण्ड गाउँमा सञ्चालित कालिका आधारभूत प्राथमिक विद्यालयको पठनपाठनसमेत अवरुद्ध हुने गरी क्षति पुगेको छ । खानी उत्खननका कारण घर, गोठ पहिरोले च्याप्ने डर र त्रासै त्रासमा रात काट्नु परेको स्थानीय गीता विक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘वर्षायाममा झमझम पानी पर्दछ त्यही पानीमा खानीबाट आएको भेलले माथिको ढिस्को घरमा ल्याएर परिवारको एउटै चिहान बनाउँछ कि भन्ने समस्याले सधैँ डर हुन्छ ।’

गत वर्ष बनाएको गोठ नै भासिएर पुरियो । शौचालय पनि भासियो त्यसैमाथि घर छिया-छिया नै बनाएको पीडित नेपालीको गुनासो छ । बस्ती जोखिममा रहे पनि सम्बन्धित निकायले बेवास्ता गरेको पीडितहरूको गुनासो छ । पटक–पटक स्थानीय सरकार र खानी सञ्चालकलाई समस्या समधानमा पहल गर्न आग्रह गरे पनि सुनुवाइ नभएको यहाँका पीडितहरूको भनाइ छ । स्थानीय सरकारले प्लाष्टिकको त्रिपालबाहेक अरू केही पनि सहयोग नगरेको पीडितहरू बताउँछन् । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने आफूहरू पीडितको विषयमा चिन्तित बनेको बताउनुहुन्छ । उहाँले खानी सञ्चालकहरूसँग समन्वय गरेर छिट्टै पीडितहरूको समस्या समाधानमा आफूहरू लाग्ने बताउनुभयोे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?