दुई अर्ब ३२ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सरकारले सबैको लागि दिगो खानेपानी तथा सरसफाइ (सस्टेनेवल वास फर अल) आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिब एक अर्ब ३७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्विट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन (करिब ९५ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी गराउनुभयो । उहाँका अनुसार सरकारले उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न, म्याद थपसम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माणलगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्यलगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानुन बमोजिमको विलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्नसक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाल तथा सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, विश्व व्यपार संगठन नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्याससमेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले साउन ३० देखि भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेण्टल कन्फ्रेन्सको पाँचौँ सत्र आइजिसिभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै, नेपाली मूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सिएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता कार्कीले जानकारी गराउनुभयो ।

त्यस्तै, उहाँले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनीत गर्ने, गोरखा जिल्ला साबिक वारपाक गाविस-५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको ६-१०-३-० रोपनी जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टा भर्ना दिनको लागि सहमति प्रदान गर्ने निर्णयसमेत गरेको जानकारी गराउनुभयो ।

प्रवक्ता कार्कीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नवीनचन्द्र गौतमलाई मनोनयन गर्ने, राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय गरेको पनि जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?