बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै प्रसुनजंग

Read Time = 4 mins

काठमाडौं । आगामी साता थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रसुनजंग पोखरेलले प्रतिस्पर्धा गर्ने अवसर पाउनु भएको छ । ब्राइट फूयुचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत राजधानीका प्रसुनजंग पोखरेलले बैंककमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आप्mनो गायन कला प्रस्तुत गर्ने अवसर पाउनुभएको हो ।

परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्र्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एण्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तर्राष्ट्रिय प्रतिस्र्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनु भएको हो । उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उहाँ एक्लो प्रतिस्पर्धी हुनुहुन्छ ।

देशभरका विभिन्न विद्यालयका करिब हजार जना प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछाडि पार्दैै डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बन्नुभएका १४ वर्षीय प्रसुनले टिन स्टार इन्टरनेशनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौं प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नहुनेछ । उहाँलाई बिदाइ र शुभकामना प्रदान गर्न ब्राइट फूयुचर सेकेण्डरी स्कुलले विद्यालयमा कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले पोखरेलको सफलताको कामना गर्दै यस्ता प्रतिभालाई सहयोग गर्न आफू हरदम तयार रहेको बताउनुभयो । चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाअध्यक्ष राजभाइ महर्जनले गायनको माध्यमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनु गर्वको विषय भएको चर्चा गर्नुभयो । ब्राइट फ्युचरका संस्थापक प्रिन्सिपल मोहन कार्कीले प्रसुनलाई शुभकामना दिँदै विद्यालयले पढाइमा मात्र नभई गायन, खेलजस्ता अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताउनु भयो । प्रसुनकी आमा विमला पोखरेलले आफूले सधैं सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाइसँगै गायनमा लाग्न सहयोग गर्दै आएको खुलाउनुभयो ।

त्यस्तै डीएसए सिंगिङ स्टारका आयोजक सस्था परिवर्तन इभेन्ट हाउसका निर्देशक राज बराइलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिड १९ का कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रष्ट्याउनुभयो । उपाधि विजेता भएसँगै प्रसुनजंगले ‘साथी’ बोलको गीत पनि रेकर्ड गराइसक्नुभएको छ । जसमा उहाँलाई संगीत र स्वरमा टंक बुढाथोकीले साथ दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?