शोभा अर्जुन संगीत कोषबाट सम्मान र छात्रबृत्ति वितरण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । लोक संगीतकी प्राध्यापक, गायिका एवं लेखिका स्वर्गीय शोभा तिवारी लोहनीको ६९ औं जन्मजयन्ती मनाइएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि लोहनीको ६९ औ जन्मजयन्ती मनाइएको हो ।

सो अवसरमा शोभा अर्जुन संगीत कोषको तर्फबाट नेपाली ताल बाजाका निर्माणकर्ता एवं विज्ञ श्री दिपक कुलुलाई सम्मान गरिएको थियो । यस्तै ललितकला क्याम्पसमा बि एफ ए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुस्मा विशुन्खेलाई रु १० हजार राशीको प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको छ।

कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष तथा प्राध्यापक तिवारीको छोरा आशिष तिवारी तथा नेपाली ताल बाजाका वरिष्ठ वाद्यवादक न्हुच्छेबहादुर डंगोलले संयुक्त रुपमा द्धीप प्रज्वलन गरि शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्राध्यापक तिवारीको छोरी ऋचा शर्मा तिवारीले स्वागत मन्तव्य व्यक्त गर्दै कोषले आयोजना गरेका कार्यक्रमहरू माथि प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी सुस्मा विशुन्खेले केहि लोक गीत तथा लोक भजन प्रस्तुत गर्नुभएको थियो भने उहाँलाई वाद्यवादनमा Folk Tunes Nepal का वाद्यवादक सुजन गोपालीले साथ दिनुभएको थियो।

कार्यक्रममा नेपाली लोक बाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कडेलले सम्मानित व्यक्तित्व दिपक कुलुको बाजाको शीप बारे प्रकाश पार्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली लोक संगीत ,बाजा का मुर्धन्य व्यक्ति न्हुच्छेबहादुर डंगोलले नेपाली लोक संगीतको आजको अवस्था, त्रि.वि.विमा लोक संगीतको अध्ययन अध्यापनको अवस्था तथा नेपाली लोक बाजा संग्राहलयको अवस्था खस्कदै गएको र यसलाई बचाउन सबै लागी पर्नु पर्ने र प्राध्यापक तिवारीको संगीत प्रतिको लगाव र उहाँको विद्यार्थीकाल , रेडियो नेपाल मा गीत गाउदाँ लगायतका जीवनका विभिन्न कालखण्डका बारेमा स्मरण गर्नुभयो।

कार्यक्रम को समापन गर्दै कोषका अध्यक्ष तथा उक्त कार्यक्रमको सभापति आशिष तिवारीले भविष्यमा कोषले अझ आफ्नो कार्यक्रमहरू विस्तार गर्ने लक्ष्य लिएको र नेपाली लोकबाजा, लोकगीत तथा संस्कृति को संरक्षणमा पनि युवापुस्ता जागरुक हुनुपर्ने कुरा बताउनु भयो। उहाँले सबै नागरिक समाज, लोक संगीतको हस्तीहरूको साथ, सहयोग, मार्गदर्शनलाई सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

उक्त कार्यक्रम शोभा अर्जुन संगीत कोषको आयोजना तथा नेपाल लोक बाजा संग्राहलयको सह आयोजनामा नेपाल लोक बाजा संग्राहलय, त्रिपुरेश्वरमा गरिएको थियो।

नेपाली लोक गीत-संगीत क्षेत्रका बारेमा विभिन्न पत्रपत्रिकाहरूमा शोभाका दर्जनौँ लेख रचना प्रकाशित छन् । नेपाली लोक संगीत अध्ययन गर्न चाहनेहरूका लागि उहाँको ‘संगीतार्पण’ पुस्तक प्रकाशित छ ।

लामो खोज र अनुसन्धानपछि २०६० सालमा साझा प्रकाशनबाट प्रकाशित यो पुस्तक लोकसंगीत विषयमा प्लस टु र स्नातक तहमा अध्यापन हुने गरेको छ। तर, स्तनको क्यान्सरको कारण उहाँको अन्ततः २०६६ चैत्र १६ गते देहावसान भएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?