निष्ठाको यात्रामा दीपक बास्कोटा

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ डा.गणेशप्रसाद घिमिरे
मानिस सामाजिक प्राणी हो । समाज उसका लागि अनिवार्य मानिएको छ । समाजसित उसको सम्बन्ध भएन भने मानिसका हरेक पक्ष कमजोर हुुने गर्दछन् । त्यसैले समाज र मानिस एक अर्काका पूरकका रूपमा आएका हुुन्छन् । समाज मानिसका लागि र मानिस समाजका लागि हो भन्ने सन्दर्भलाई सदा मानेको छ समाजशास्त्रले पनि । समाजशास्त्र समाज विकासका कुरा गर्दछ । समाजको विकास निरन्तर गतिशील हुन्छ र मानिस त्यसको उन्नयनकर्ताका रूपमा आएको हुुन्छ । मानिस र समाज आपसमा सम्बन्धित बनेर रहेका हुुन्छन् । यसैलाई जीवनका हरेक पाइलामा जोडेर हेर्ने समाज र मानव विकासका सबै कुराको अभिलेख उसका कर्मबाट हुने गरेको हुुन्छ ।

मानिसका कर्म र त्यसले निर्वाह गर्ने भूमिकाका माध्यमबाट उसका सबै आन्तरिक सन्दर्भहरू बाहिर आएका हुन्छन् । त्यसैले मानिसलाई सामाजिक प्राणी भनिएको हो । समाजसित मानिसको प्रत्यक्ष सम्बन्ध हुुनुु नै मानवीय भावना हो । जीवन यात्रा हो । जीवनका सबै कुरा यात्रामा समाहित बनेर आएका हुुन्छन् । यात्रालाई सकारात्मक र नकारात्मक तरिकाबाट बाहिर ल्याउन प्रयोग गरिएको हुुन्छ । मानिसले जीवनका यात्रामा विविधता र त्यसले व्यक्त गर्ने भावनालाई बाहिर ल्याउने गरेको हुुन्छ । त्यो जीवनको यात्राका हरेक पल र त्यसबाट उठेका चेतनाका सन्दर्भ पनि मानिसका चाहनाको पहिचान बनेर आएको हुुन्छ । त्यसैले जीवन र जीवनका सबै यात्रामा मानिसको भावना र निष्ठा जीवन्त बनेर रहनुु आवश्यक मानिएको छ ।

आत्मस्वीकृति :
मानिस कर्मशील प्राणी हो । उसले गरेका कर्मले उसलाई जीवनका हरेक गोरेटोमा साथ दिने गरेका हुुन्छन् । कर्मका माध्यमबाट परिचित हुने मानिस र उसका क्रियाले उसका हरेक पाटाहरू बलवान् र सबल बनेर आएका हुुन्छन् । त्यसैले आफूले गरेका कर्मको फेरिहस्त हो आत्मकथा वा आत्मवृत्तान्त । यही हो मानिसको आत्मस्वीकृति पनि । आत्मस्वीकृतिका माध्यमबाट ऊ (लेखक) वा उसले गरेका कर्महरू पाठकका माझमा स्वीकृत र तिरस्कृत भएका हुुन्छन् । लेखकले गरेका कर्मलाई छलछाम नगरी पाठकसामुु पस्किने आत्मस्वीकृतिको अध्यायले उसका सबै कर्मको लेखाजोखा गरेको हुुन्छ । यही आत्मस्वीकृतिको मझेरीमा २०७९ साल श्रावण १२ गते बिहीबारका दिन आएको छ दीपकप्रसाद बास्कोटाको निष्ठाको यात्रा । यही निष्ठाको यात्रामा सलबलाएका छन् बास्कोटा आफ्ना आत्मगन्थन लिएर ।

निष्ठाको आधार :
निष्ठा आफैँमा विश्वास हो । कुनै कामप्रति अटलश्रद्धा, विश्वास आत्मस्वीकृति हो । आत्मस्वीकृति विना निष्ठाको आधार दरिलो हुुँदैन । यही स्वीकृति लिएर देखिएको कृति हो बास्कोटाको निष्ठाको यात्रा । उक्त कृतिमा लेखक यसरी उभिए करिब अर्धशतकीय कर्म विवरणहरू झल्किनुुका साथै कर्मशील जीवनयात्रामा बेहोरेका अनेक बाधा व्यवधानलाई संक्षिप्तरूपमा उतारेको छुु । यही हो बास्कोटाको आत्मस्वीकृति । जीवनका आधा शतकमा गरेका उनका कर्महरूको गन्थन हो निष्ठाको यात्रा ।

नेपालको राजनीतिमा अब्बल पुरुष मानिने विश्वेश्वरप्रसाद कोइरालालाई भेटेर आर्थिक अनुुशासनको पाठ सिकेका बास्कोटाको राजनीति यात्रा सबल थियो । नेपाली कांग्रेसको राजनीतिमा समर्पित उनी गृहराज्यमन्त्री भए । आस्था र निष्ठाका माध्यमबाट राजनीतिमा समर्पित उनले नेपालमा सहकारीको अवधारणालाई बाहिर ल्याए । राजनाीतिमा आस्था र विश्वास राख्ने उनले यो कृतिलाई नेपाली कांग्रेसका सबल, प्रखर र शान्तियात्राका अथक योद्धा गिरिजाप्रसाद कोइरालामा समर्पित गरेका छन् । कृतिको हार्दिक समर्पण शीर्षकमा मलाई आजीवन राजनीतिक संरक्षण प्रदान गर्ने नेपाली राजनीतिमा शान्ति प्रक्रियाका महानायक श्री गिरिजाप्रसाद कोइरालाप्रति यो मेरो आत्मकथा सादर अर्पण गर्दछुु ।

आस्था, विश्वास र निष्ठाको राजनीति गर्ने बास्कोटाको निष्ठाको यात्राले जीवन्त रूप पाएको छ । आफ्नो राजनीतिको यात्राका विविध गतिविधिलाई उनले यहाँ समाहित गरेर निश्छल तरिकाले पाठकलाई सुुम्पेका छन् । उनको यो आत्मस्वीकृति नेपाली आत्मवृत्तान्तको इतिहासमा थप इँटा बनेर आएको छ ।

यो लेखकको आत्मस्वीकृति हो । लेखकको राजनीति र गुुरुप्रतिको आस्था र विश्वास हो । बास्कोटाको आफूले राजनीति आरम्भ गरेको पार्टी र संस्थाप्रतिको विश्वास हो । राजनीतिमा आस्था, विश्वास र निष्ठाले सदैव काम गरिरहेको हुुन्छ । त्यही विश्वास र आस्थाका केन्द्र बनेर उभिए बास्कोटा यो कृतिमा । उनले यो कृतिलाई शान्तिप्रक्रियाका आचार्य गिरिजाप्रसाद कोइरालालाई समर्पित गरेर ।

उनले राजनीतिमा भोगेका सबै कुराको फेरिहस्त कृतिमा राखिएको छैन । उनको जीवनको सक्रिय समय जसले राजनीतिलाई आस्था, विश्वास र श्रद्धासित जोडेर हिँड्यो त्यसको वास्तविक सन्दर्भलाई बास्कोटाले यसमा उतारेका छन् । सहकारीको अवधारणा, चियाखेतीको अवस्था, भावातीत ध्यान, योगप्रतिको आस्थालाई उनले कृतिमा सजिलो तरिकाले पोखेका छन् । यही पोखाइ सरल र सहज बनेर उत्रेको छ कृतिमा पनि । यही हो आस्था, विश्वास र श्रद्धाको परिणाम पनि । बास्कोटाको यो सक्रिय यात्रा कृतिमा डग्मगाएको छैन । आस्था र विश्वासको परिणामलाई गतिलो तरिकाले राखेका छन् दीपकले यो कृतिमा ।

आस्थाका केन्द्र :
आस्थाले विश्वास जन्माउँछ । विश्वास दरिलो भयो भने मात्र निष्ठाले आफूलाई तरोताजा बनाएर उपस्थित गराएको हुुन्छ । यही प्रक्रियाको आधार बनेर उपस्थित भएका छन् निष्ठाको यात्रामा दीपक बास्कोटा । उनी राजनीतिमा आए । राजनीति गरे । राजनीतिमा प्राप्त हुने मन्त्री पनि भए । आस्था र विश्वासले सदा उनको जीवनलाई सही मार्गमा डोहोर्‍याइरहृयो । यही आस्था र विश्वास उनले आफूलाई मार्गदर्शन गराउने व्यक्तित्वमा समर्पित गरे । राजनीतिलाई कहिले पनि मागेर खाने भाँडो बनाएनन् ।

राजनीतिमा विश्वासको खाँचो हुुन्छ । यो विश्वासलाई उनलले जितेका छन् । उनले राजनीति त गरे । तर राजनीति सधैँ मेरा लागि हो । यो मेरो पेवा हो भन्ने भावनालाई कहिले पनि आत्मसात गरेनन् । विश्वासको वातावरणमा राजनीतिमा समर्पित उनी आस्थाको केन्द्रबाट बाहिर आएका छन् । उनले राजनीतिमा गरेका सबै कुराको फेरिहस्त कृतिमा नभए पनि पञ्चायतकालका कठिन दिनहरू, पञ्चायती शासनले दिएका यातनाहरू, राजनीति गर्दा आफ्नो आस्थाका केन्द्र विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालासँग गरेका राजनीतिका वार्ताहरूलाई गतिलो तरिकाले कृतिमा प्रस्तुत गरेका छन् ।

उनले गरेको राजनीति आस्थाको थियो, विश्वासको थियो र श्रद्धाको थियो । आज पनि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् तर आफूले राजनीतिको बाटो अँगालेनन् । आफ्नो राजनीतिको गोरेटो उत्तरवर्ती पुुस्तालाई दिए । आफू एक असल सभ्य र आस्थावान् कांग्रेसका मतदाता बनेर रहे ।

अयोध्याका राजा दशरथले ऐनामा कपाल हेरे । कपाल सेतो भइसकेको रहेछ । उनको मनमा जिज्ञासा पलायो । अब मैले राजनीति र राज्य सञ्चालनको अभिभारा रामलाई सुुम्पेर वानप्रस्थी बन्नुुपर्दछ भन्ने जिज्ञासा पलायो र रामलाई उत्तराधिकारी घोषणा गरेका थिए । हिँड्न नसक्ने, डोहो¥याएर सभा समारोहमा लैजानुुपर्ने, बोल्दा जिब्रोले साथ नदिने, शरीरका प्रत्येक अङ्ग शिथिल हुुँदासमेत राजनीतिका पदहरू ओगट्ने प्रवृत्तिलाई बास्कोटाको राजनीति यात्राले झापड हानेको छ । आस्था र विश्वासको राजनीतिमा समर्पित उनको यो समर्पणले नेपाली राजनीतिको अवस्थालाई पूर्णता दिन सकेको छैन ।

आजको राजनीति अस्वस्थ छ । बास्कोटाले स्वस्थ राजनीतिलाई माने । उनले राजनीतिको जीवनसित जोडिएका घटनाहरूलाई रोचक तरिकाबाट यो कृतिमा समेटेका छन् । राजनीतिबाट मात्र होइन नेपालको अर्थतन्त्रलाई सहकारीका माध्यमबाट पनि अघि बढाउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेका उनले सहकारीका सन्दर्भमा गरेका कुरालाई आत्मस्वीकृतिका रूपमा कृतिमा समाहित गरेका छन् ।
आस्था, विश्वास र निष्ठाको राजनीति गर्ने बास्कोटाको निष्ठाको यात्राले जीवन्त रूप पाएको छ । आफ्नो राजनीतिको यात्राका विविध गतिविधिलाई उनले यहाँ समाहित गरेर निश्छल तरिकाले पाठकलाई सुुम्पेका छन् । उनको यो आत्मस्वीकृति नेपाली आत्मवृत्तान्तको इतिहासमा थप इँटा बनेर आएको छ ।

अध्यात्मको यात्रा :
आरम्भिक चरणमा नै गीता पढेर अध्यात्मको पाटोलाई बलियो बनाएका बास्कोटा महर्षि वैदिक फाउन्डेसनका संस्थापक हुन् । अध्यात्म र वैदिक चेतनाबाट केही गर्न सकिन्छ भन्ने भावलाई सदा आफूभित्र समाहित गरेका उनले अध्यात्मबाट जीवनका हरेक समस्याको समाधान हुने कुरामा विश्वास लिएका छन् । अत्यास लाग्दो जीवन बाँचेका आजको मानिसलाई अध्यात्म र आध्यात्मिक चेतनाका माध्यमले जीवनका हरेक समस्याको समाधान खोज्न सकिने तथ्यलाई समेत उनले यो कृतिमा राखेका छन् ।

भावातीत ध्यान (मानिसको सोचाइ र कल्पनाभन्दा पर रहेको) योगशास्त्रको विकासका लागि सदा समर्पित छन् उनी । आफूले महर्षिसित गरेको भेटघाट र नेपालमा यसको विकास कसरी गर्न सकिन्छ भनेर लागेका उनी आज सफल भएका छन् । मनका विभिन्न अशान्त अवस्था, आजको भौतिक अवस्थाले जकडिएको मानिस, तेरो र मेरोमा लडिरहेको मानव, जीवनका हरेक समस्याको समाधान ध्यान र योगबाट हुने कुराको सन्देश उनले दिन खोजेका छन् महर्षि वैदिक फाउन्डेसनका माध्यमबाट । नेपाल अध्यात्मको केन्द्र हो । अध्यात्मलाई जगाउन र यसलाई फैलाउन सक्नुुपर्दछ । यही चिन्तनमा सदा समर्पित बास्कोटाले आज अध्यात्म नै हाम्रो वैदिक परम्पराको उच्च प्राप्ति हो भन्ने कुरालाई कृतिमा समाहित गरेका छन् ।

उनको अध्यात्म यात्रा अनवरत छ । मानिसको चेतनाको विकास र मानिसका मनका विविध विकृतिको नास ध्यानले गर्ने कुराको सङ्केत कृतिका माध्यमबाट उनले बताएका छन् । नेपालमा वैदिक महर्षि फाउण्डेशनका माध्यमबाट आध्यात्मिक चेतनाको विस्तारमा लागेका उनी र उनको अथक प्रयासले सार्थकता पाओस् भन्ने शुुभकामना । अध्यात्मका माध्यमबाट नेपालको उन्नति र प्रगति चाहने बास्कोटाको जीवनका सबै पक्षको उद्घाटन निष्ठाको यात्रा कृतिमा देखापरेको छ ।

जीवनमा आफूले भोगेका सबैजसो कुरालाई तथ्यसहित राखेका उनी नितान्त निष्पक्ष भएर बाहिर आएका छन् । मानिसको ज्ञान र उसले जीवनमा बाँच्नका लागि गरेका सङ्घर्ष नै मानिसको चेतनाको उपज हो । यही चिन्तनका धनी दीपकप्रसाद बास्कोटाको निष्ठा सदा देश र नेपालीप्रति रहिरहोस् । १६६ पृष्ठमा समेटिएको यो कृति नेपाली आत्मप्रकाशन साहित्यका लागि एउटा मियो बनेको छ । उनको लेखनी र उनका कर्म देश र देशवासीप्रति समर्पित होऊन् भन्ने शुभकामनासहित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?