काजी भीम मल्ल : देशले स्मरण गर्नुपर्ने पात्र

Read Time = 13 mins

✍️ प्रा.डा.तीर्थप्रसाद मिश्र
नेपाल एक गौरवपूर्ण अतीत भएको मुलुक हो । यो देशको गौरव, वैभव तथा श्रीवृद्धि गर्न इतिहासको कालखण्डमा धेरै व्यक्तिहरूले उल्लेख्य योगदान गरेका छन् । मुलुकको हितका लागि सार्थक कार्य गरेका तिनै व्यक्तिहरू नै दण्डित भएका दृष्टान्त पनि नेपालको इतिहास अध्ययन गर्दा यत्रतत्र सर्वत्र पाइन्छन् । यस्ता महत्वपूर्ण व्यक्तिलाई मुलुकले स्मरण गर्दै श्रद्धाञ्जलिस्वरूप विशेष मानसम्मान गर्दै आएको पनि छ ।

यस्ता सम्मानमा पनि समुचित तथा वस्तुनिष्ठ मूल्यांकन हुन नसकेको टिप्पणी पनि हुनेगरेका छन् । तत्कालीन राजनीतिका कारण कतिपय अपेक्षित व्यक्तिहरूले उचित श्रद्धा पाउन सकेका छैनन् पनि । इतिहासका यस्तै व्यक्तित्वमा पर्छन्, काजी भीम मल्ल । वास्तवमा नेपाल-भोट सम्बन्धको इतिहास केलाउँदा बिर्सनै नहुने नाम हो, काजी भीम मल्ल । उनैले नेपालको आर्थिक स्थिति सुदृढ बनाउन महत्वपूर्ण कार्य गरी विदेशमा नेपालीहरूको सान, मान, सम्मान र प्रतिष्ठा बढाए । यिनै ऐतिहासिक पात्रलाई शब्दको श्रद्धाञ्जलि अर्पण गर्न यो आलेख तयार पारिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने महान् कूटनीतिज्ञ काजी भीम मल्ल दरबारिया षड्यन्त्रका कारण भोटबाट कान्तिपुर फर्किएकै दिन काटिए । प्रताप मल्लले गुहृय कुरा नबुझी अरूको बोक्रे कुरा सुन्दा यस्ता होनहार देशभक्त काजीको हत्या हुन गयो ।

समान प्रकृतिको भौगोलिक तथा अर्थ-सामाजिक परिवेशका कारण नेपाल तिब्बत सम्बन्धको सुरुवात भएको हो भने सम्बन्धका ऐतिहासिक प्रमाण भने सातौँ शताब्दीदेखि मात्र उपलब्ध छन् । सातौँ शताब्दीदेखि नेपाल-तिब्बतको संस्थागत सम्बन्ध प्रारम्भ भएको थियो । केरुङ र कुती नाका प्रचलनमा आएपछि त नेपाल उत्तर तथा दक्षिण एसियाकै व्यापारिक केन्द्र हुन पुग्यो । साथै नेपालीहरूको हिमालयको वारपार व्यापारमा वर्चस्व कायम हुन थाल्यो । नुन, सुन, ऊन र खाद्यान्नका कारण यी दुवै मुलुकबीच प्रारम्भ भएको व्यापारिक सम्बन्ध विस्तारित हुँदै जाँदा तिब्बतको मालसामान भारतीय बजारमा तथा भारतमा उत्पादित वस्तु तिब्बती बजारमा पु¥याई गरिने मध्यस्थ व्यापारमा नेपालीहरूकै आधिपत्य कायम हुनगयो ।

यथार्थमा भन्ने हो भने, कैयौँ शताब्दीसम्म नेपालको तिब्बतप्रतिको नीतिको प्रमुख उद्देश्य नै त्यस मुलुकको आन्तरिक तथा बाहृय व्यापारमा एकाधिपत्य जमाउनु रहेको थियो । लिच्छवि कालमै प्रारम्भ भएको नेपाल-भोट सम्बन्ध शनै शनै झाङ्गिँदै गएको देखिन्छ । धार्मिक प्रभावबाट प्रारम्भ भएको यी दुवै मुलुकको सम्बन्धमा नेपालको व्यापारिक स्वार्थका कारण आपसमा तितामीठा घटना पनि भएका थिए । उपत्यकामा मल्ल राजाहरूले कुती र केरुङ जस्ता व्यापारिक नाकामार्फत प्रसस्त फाइदा लिएका थिए ।

यसैकारण दुवै मुलुकबीच पटक-पटक युद्ध पनि भएको इतिहास साक्षी छ । भोट निर्बल र राजनीतिक रूपमा अस्थिर भएको समयमा नेपाल उसमाथि धावा बोली आफ्नो दुनो सोझ्याउने गर्दथ्यो । यसै पृष्ठभूमिमा कान्तिपुरका राजा प्रताप मल्लको पालामा काजी भीम मल्ल राजाज्ञाअनुसार भोटमा चढाई गरी कुती क्षेत्र कटी अगाडि बढ्दै सिगात्से (डिगर्चा) सम्म पुगे । त्यति बेला उनलाई रोक्न भोटका सैनिकको कुनै जोड चलेन । उनीहरू आत्मसमर्पण गर्न बाध्य भए । युद्धमा पराजित भएका भोटका लामाले भीम मल्लद्वारा राखिएका सर्तहरू स्वीकार गरे ।

फलतः कान्तिपुर र भोटबीच एक सन्धि भयो । यो नै नेपाल र भोटबीचको पहिलो सन्धि हो । यो सत्रौँ शताब्दीको मध्यतिरको घटना हो । यस सन्धिमा व्यापारीले ३२ कोठी (पसल) थाप्न पाउने, कुतीमा कान्तिपुरको आधिपत्य हुने, ल्हासामा कान्तिपुरको स्वार्थरक्षाका लागि नायो (नायक) नियुक्त गर्न पाउने, भोटमा नेपाली व्यापारीलाई भोट सरकारबाट कुनै भन्सार तथा महसुललगायत अन्य कर दस्तुर लगाउन नपाउने, कान्तिपुरले आफ्ना राजाको नाममा टक छापी भोटको बजारमा पठाउने र त्यस बराबरको सुनचाँदी आदि भोटले नेपाललाई उपलब्ध गराउने तथा प्रत्येक साल एक तोला बुकी सुन, १३ मासा चाँदी र तीन पाथी नुन प्रत्येक वर्ष उपहार पठाउनेलगायत महत्वपूर्ण सर्तहरू थिए ।

यो एकतर्फी सन्धिबाट कान्तिपुरले भोटमा विशेष सुविधा पायो । यसबाट कान्तिपुरलाई उल्लेख्य फाइदा पुग्यो । कालान्तरमा ललितपुर र भक्तपुरले समेत सोही सुविधा प्राप्त गरी भोट व्यापारमा सरिक हुने अवसर पाए । यस सन्धिबाट उपत्यकाका मल्ल राजाहरूले प्रसस्त फाइदा पनि लिए । तसर्थ यहाँको अर्थतन्त्र नै दरिलो बन्न पुगेको थियो । नेपाली व्यापारीहरू ल्हासा तथा भोटका अन्य क्षेत्रमा कुशल व्यापारी भई बस्न थाले । यसले त्यस देशको आन्तरिक तथा बाहृय व्यापारमा नेपालको एकाधिपत्य कायम हुन सक्यो । यो स्थिति बीसौँ शताब्दीको मध्यसम्म पनि यथावत् रहृयो ।

कतिपय नेपाली व्यापारीहरू हालसम्म पनि भोट व्यापारमा संलग्न छन् । नेपालका राजाहरूले टक पठाई त्यस बराबर सुनचाँदी ल्याई समृद्धि प्राप्त गरे । बढी फाइदा लिने सुरमा खोटा टक पठाउँदा विवाद सिर्जना हुँदा सन् १७८८ मा नेपाल-भोटबीच युद्ध हुनपुग्यो । गोरखाको विजय अभियानका कारण व्यापारमा व्यवधान आयो । तर, पृथ्वीनारायण शाहले भोट व्यापारको उपादेयता आत्मसात् गरी खोटा टकको समस्या समाधान गर्ने प्रयास पनि गरेका थिए । उनी यसमा सफल हुन भने सकेनन् । नायो (नायक) राख्ने परम्परा भने निरन्तर रहृयो ।

सन् १७८९ को सन्धिबाट नायोको सट्टामा भारदार प्रतिनिधि राख्ने अधिकार पाएकामा सन् १७९२ को सन्धिबाट यो अधिकार गुम्न पुग्यो । पुनः सन् १८५६ को सन्धिबाट उक्त अधिकार प्राप्त भयो । तत्पश्चात् यो अधिकार सन् १९५६ सम्म यथावत् रूपमा रहृयो । टक पठाउने कार्य भने सन् १७९२ को (नेपाल-भोट-चीन) सन्धिले बन्द गरायो । सन् १८५६ को सन्धिबाट नेपालले व्यापारिकबाहेक अन्य विशेष क्षेत्राधिकारसम्बन्धी अधिकार पनि प्राप्त गरेको थियो । नेपाली व्यापारी साहु महाजन भई भोटमा प्रतिष्ठित हुन पुगे । नेपालको कानुन भोटमा रहेका नेपालीलाई लागू हुने अनौठो परम्परा सुरु भयो ।

कतिपय नेपाली व्यापारीहरू हालसम्म पनि भोट व्यापारमा संलग्न छन् । नेपालका राजाहरूले टक पठाई त्यस बराबर सुनचाँदी ल्याई समृद्धि प्राप्त गरे । बढी फाइदा लिने सुरमा खोटा टक पठाउँदा विवाद सिर्जना हुँदा सन् १७८८ मा नेपाल-भोटबीच युद्ध हुनपुग्यो । गोरखाको विजय अभियानका कारण व्यापारमा व्यवधान आयो ।

नेपाली व्यापारी प्रायः सबैले भोटका स्थानीय महिलासँग विवाह गर्दथे । नेपाली बाबु तथा तिब्बती आमाबाट जन्मेका सन्तानका छोराहरू नेपालका रैती र छोरीहरू भोटका रैती हुने अनौठो परम्परा पनि सुरु भयो । नेपाल नै नदेखेका नेपालीको संख्या बढ्दै गयो । यी उपलब्धि कान्तिपुर, ललितपुर र भक्तपुर तथा कालान्तरमा नेपालले नै पाउन सक्नुको पछाडिका कारण काजी भीम मल्ल नै हुन् भन्ने तथ्य निर्विवाद छ । तर, यी सबै सुविधा सन् १९५६ पछि भने कायम हुन सकेनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने महान् कूटनीतिज्ञ काजी भीम मल्ल दरबारिया षड्यन्त्रका कारण भोटबाट कान्तिपुर फर्किएकै दिन काटिए । प्रताप मल्लले गुहृय कुरा नबुझी अरूको बोक्रे कुरा सुन्दा यस्ता होनहार देशभक्त काजीको हत्या हुन गयो । उनकै श्रीमतीले सती जाँदा श्राप दिएका कारण नेपाल सतीको सराप लागेको मुलुक कहलिन गयो । प्रताप मल्लले त पछि यथार्थ कुरा बुझे तर के गर्ने न्याउरी मारी पछुतो झैँ भयो ।

नेपालको प्रतिष्ठा भोटमा पुर्‍याउने तथा नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सक्रिय योगदान गरेका भीममल्ल नेपालको इतिहासका स्मरणीय पात्र हुन् । त्यति बेला अन्य देशमा नेपालीहरू चौकीदार र सिपाही हुन जान्थे तर भोटमा नेपालीले महाजन कहलिएर प्रतिष्ठित जीवन यापन गर्न पाएका छन् । नेपाली प्रतिनिधिले नै अन्तर्राष्ट्रिय विवाद (चाहे सन् १९०३-०४ को अंग्रेज-भोट विवाद होस् वा सन् १९०८-१२ को चीन–भोट संघर्ष) मा मध्यस्थता गरेका घटनालाई हेर्दा काजी भीम मल्ललाई बिर्सन सकिँदैन ।

नेपालका राष्ट्रिय विभूतिमा काजी भीम मल्ल किन पर्न गएनन् वा पारेनन् अथवा सम्बन्धितलाई जानकारी नै भएन ? किन हो ? यस प्रश्नको उत्तर खोजी इतिहासलाई सम्मान गर्न ढिला नगर्दा नै बेस होला कि ! काजी भीम मल्ल जस्ता राष्ट्रका लागि योगदान गर्ने व्यक्तिलाई राष्ट्रिय सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुनेतर्फ सम्बन्धितको ध्यान जाला कि ? मलाई लाग्छ, पक्कै जाँदैन । यो मेरो अरण्य रोदनमात्र हुनेछ तापनि आफूले पढेको विषयलाई सम्मानगर्ने धर्मको पालनामात्र गरेको हुँ । अस्तु ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dr Prem Singh Basnyat
Dr Prem Singh Basnyat
2022-07-31 10:43 am

An outstanding history , appreciated , thank you so much

Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2022-08-01 2:47 pm

इतिहास बारे जान्ने र बुझ्ने अवसरका लागि तीर्थ सरको लेखकीय उपस्थिति निरन्तर पाइयोस् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?