यु २० साफः भारतलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको तेस्रो खेलमा आइतबार घरेलु टोली भारत र नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।

भुवनेश्वरस्थित कालिङ्ग रंगशालामा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । भारतको सामना गर्दा नेपाल जितसहित फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा लगातार तीन खेल जित्दै बंगलादेश यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

शीर्ष स्थानको बंगलादेशको नौ अंक छ । दुई खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा बसेको नेपाल र समान खेलमा तीन अंकसहित तेस्रो स्थानमा बसेको भारत फाइनलको दौडमा रहेका छन् । माल्दिभ्स र श्रीलंकाको फाइनल प्रवेश सम्भावना भने अन्त्य भइसकेको छ ।

नेपालका प्रशिक्षक मेघराज केसीले आफुहरुले पछिल्लो दुई खेलमा निकालेको सहज जितले टोलीको मनोबल बढेकाले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै सुखद नतिजा ल्याउने बताए ।

भारतविरुद्ध समेत केसीले अघिल्ला दुई खेलकै प्लेइङ सेटलाई मौका दिन सक्छन् । सुरुवाती दुबै खेलमा उनले एउटै सेटलाई मौका दिएका छन् ।

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित हात पारेको थियो ।

यता पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित भएको साविकको विजेता भारतले दोस्रो खेलमा श्रीलंकालाई ४-० ले हराउँदै शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको थियो ।

भारतलाई हराएमा नेपालले शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा प्रवेश गर्नेछ । भारतसँग हार वा बराबरीको नतिजाले नेपालको फाइनल यात्रा बंगलादेशविरुद्ध मंगलबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?