अँगालोभरिको अनुभूतिमाथिको अनुभूति

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ खेमनाथ दाहाल

गत ९ गते सोमबारको अंकबाट क्रमशः
(ग) प्रवास गमन र भोगाइ :
लेखकको यो लेख पढेर न्यूयोर्कका भाइका कृत्यलाई सम्झँदा मलाई मैले वेसोरमा भेटेको ग्यासस्टेसनाचार्यको प्रतिबिम्बको झझल्को आइरहेको छ । लेखकले यो लेखमा आफ्नो सुरुवाती दिनहरूको न्यूयोर्कको बसाइलाई यसरी निरस बसाइ ‘सम्भावनाको खोजीमा करिब–करिब वर्ष दिन जति न्यूयोर्क बसेँ हुँला । परदेशको बसाइ निरस थियो । रम्न सकिरहेको थिइनँ । नेपालीहरू पनि त्यति धेरै थिएनन् वा मैले भेटिनँ । खासै नेपालीहरूको संघसंस्था पनि थिएनन्’ भनेर यो कृतिमा उल्लेख गरेको पाइन्छ ।

‘स्थायित्वको खोजीमा बोस्टनतिर’ मानिस स्वभावैले गतिशील छ, प्रगतिशील छ । न्यूयोर्कमा आफ्नो भविष्य नदेखेका लेखक लगभग आठ महिनापछि सन् १९९४ मा गीताका आश्रयमा बोस्टनतर्फ लाग्नु पनि मानवीय प्रवृत्ति नै हो । यही प्रवृत्तिको अनुशरण गर्दै लेखक पनि बोस्टनतर्फ लागेको यथार्थ यसरी उजाहर गरेका छन् ‘बोस्टन स्कुल र कलेजको शहर रहेछ । जताततै स्कुल देखिन्थे । विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालय, एमआइटी कलेज, बोस्टन विश्वविद्यालय केही नाम मात्र हुन्, जहाँ बोस्टनको वरिपरि शान, मान, इज्जत र प्रतिष्ठाले शोभायमान भएर उभिएका छन् ।

संसारभरका मान्छे हार्भर्ड विश्वविद्यालयका संस्थापक हार्भर्डको प्रतिमा स्पर्श गर्न र तस्वीर खिचाउन लामो लाइन लागेर घण्टौँ प्रतीक्षारत देखिन्छन् । हार्भर्डको परिसरको डबलीमा न्यानो घाम तापेर किताब पढ्नेको भीडले एकप्रकारले सम्मोहन पैदा गरिदिन्छ जसलाई पनि ।

संसारभरका मान्छे हार्भर्ड विश्वविद्यालयका संस्थापक हार्भर्डको प्रतिमा स्पर्श गर्न र तस्वीर खिचाउन लामो लाइन लागेर घण्टौँ प्रतीक्षारत देखिन्छन् । हार्भर्डको परिसरको डबलीमा न्यानो घाम तापेर किताब पढ्नेको भीडले एकप्रकारले सम्मोहन पैदा गरिदिन्छ जसलाई पनि । थुप्रै किताबका दोकान देखिन्छन् चारैतिर । फ्रेन्च बेकरी क्याफे अबोपेन रेस्टुरेन्टअघि कफीसँगै चेस खेल्ने र किताब पढ्नेको ठूलो जमातले सबैको मन आकर्षित गर्न सफल हुन्छ । मलाई पनि त्यस्तै दृश्यले सम्मोहन गरेपछि बोस्टनमा पढ्न जाने निश्चय गरेको थिएँ ।’

बोस्टननजिकै डानभर काउन्टीको लिन शहरमा अवस्थित नर्थ सोर कम्युनिटी कलेजमा भर्ना भएर अन्ततः लेखकले अमेरिका बस्ने आधारको स्तभ्भको निर्माण गरे । आय आर्जनका लागि हार्भर्ड विश्वविद्यालय अगाडिको फ्रेन्च बेकरी क्याफे अबोपेनमा पार्ट टाइम काम गर्न सुरु गरेर आय आर्जनको द्वार खोले । त्यसपछि सन् १९९७ मा उनले आफ्नो अध्ययनलाई निरन्तरता दिदै ‘न्यू हाम्पसायर विश्वविद्यालय’ न्यू हाम्पसायरबाट ‘सामुदायिक आर्थिक विकास’ विषयमा स्नात्तकोत्तर गरे । यी सब कुराको व्यवस्थित बर्णन र अन्ततः भविष्य खोज्न लेखक पुनः भर्जिनियातिर लागेको आख्यानलाई लेखकले रोचक प्रस्तुति गरेका छन् यस लेखमार्फत ।

‘आमा : मेरी आँटिली आमा’ यस शीर्षकमा लेखककले आफ्नी आमा सुभद्रादेवीको महत्तामाथि प्रकाश पार्दै यो आलेख तयार पारेका छन् । मैले यो लेखका सुरुवातमै आमाका महत्तामाथि विवेचना गरिसकेकोले यहाँ दोहो¥याइरहनु नपर्ला । लेखकले ‘भगवान् जहीँतहीँ उपस्थित हुन सक्दैनन् त्यसैले आमा बनाइदिए ।’
‘सृष्टिको अर्को नाम हो-नारी ।’
‘माया ममता हो नारी ।
शक्ति प्रेरणा हो नारी ।
आमा हो नारी ।
करुणा हो नारी ।’
‘भनिन्छ जीवनमा दुईवटा कुरा कहिल्यै पनि भुल्नु हुँदैन । पहिलो त्यो हो जसले आफ्नो जीवनमा सबै कुरा हारेर पनि उसलाई जिताउन हरदम कोसिस गर्‍यो-त्यो हो बुबा । अर्को त्यस्तो व्यक्ति हुन् जसले हर दुःखमा साथ र सहयोग दिँदै रहृयो ती हुन्-आमा !!!’ (यसै कृतिबाट)
उनले यो लेखमा नेपालदेखि (जन्मदेखि) अमेरिकासम्म पुगेर पनि आमाले दिएको माया, ममता र संरक्षणको समीक्षात्मक बर्णन गरेका छन् ।
‘अमेरिकामा भाषा साहित्यः अनेसाससँगको हातेमालो’ यस लेखमा लेखकले आफू भर्जिनिया पुगेपछि कसरी अनेसासको सम्पर्कमा पुगे र आबद्ध भए भन्ने कुराको सविस्तार वर्णन गरेका छन् । अनेसासको मुखपत्र ‘अन्तर्दृष्टि’ को सम्पादक अनेसास उपाध्यक्ष हँुदै दुई कार्यकाल अध्यक्ष, त्यसपछि सल्लाहकार र उत्कृष्ट पुस्तकको पुरस्कारको निर्यायक भएका इतिहासलाई लिपिबद्ध गर्दै उनले अमेरिकामा साहित्य र अनेसासको बारेमा विस्तृत जानकारी पस्केका छन् ।

बोस्टनबाट भर्जिनियातिरः यस लेखमा उनले बोस्टनबाट उनी सपरिवार भर्जिनिया गएपछिको उनको अवस्थिति एक राज्यबाट अर्को राज्यमा सर्दा पर्ने असर अप्ठ्याराहरूको बारेमा जानकारी दिएका छन् । यस आलेखमा उनले उनी कसरी सगरमाथा टेलिभिजन आबद्ध भएर भाषा साहित्यको सेवा गरे भन्ने कुराको समेत यथार्थता वर्णन भएको छ ।

‘भर्जिनिया बसाइका सुरुवाती दिनहरू’ : यस शीर्षकको यो लेखमा कृतिकारले उनले बोस्टनबाट भर्जिनिया आएपछि गरेका प्रारम्भिक सघर्ष र उनले प्राप्त गरेका सफलतालाई उल्लेख गरेका छन् । उनले अमेरिकामा केही गर्ने उद्देश्यले फलस्वरूप सन् २००० सालमा वासिंटन डिसीको डुपोन्ट सर्कल नजिकै १८ स्ट्रिटमा आफ्नै देश नेपालकै चिनारी बोकेर ‘माउण्ट एभरेष्ट रेस्टुरेन्ट’ खोलेको थिए । डिसी भर्जिनिया क्षेत्रमा यो रेस्टुरेन्ट नेपाली, भारतीय र तिब्बेतियन खानाको मेनु बोकेर यस क्षेत्रको पहिलो नेपाली रेस्टुरेन्टको रूपमा यो स्थापित भएको थियो ।

उनी अनेसास जस्तो संस्थाका महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएका मानिस कसरी समानान्तर संगठन नेपाली साहित्य प्रतिष्ठान खोल्न र प्रथम अध्यक्ष बन्न पुगे भन्ने कुराको स्पष्टीकरणका रूपमा लेखिएको जस्तो आभाष पाइन्छ यो लेखमा कताकता ।

सन् २००४ मा डिसी पुगेर यस रेस्टुरेन्ट खाना खाँदा म आफैँ पनि हर्षविभोर भएको थिएँ । म त्यहाँ पुग्दा नेपालीबीचमा यो रेस्टुरेन्ट चर्चाको शिखरमा थियो । यहाँ अक्सर साहित्यिक कार्यक्रम, सांगीतिक कार्यक्रम भएका खबरले अग्रस्थान पाइरहेका थिए । कृतिकार वसन्तले वासिंगटन डिसी मेट्रो क्षेत्रका नेवा समुदायको हक, हित र सांस्कृतिक उन्नयनका लागि ‘नेवा अर्गनाइजेसन अफ अमेरिका’ को स्थापनासमेत गरेका थिए । यिनै अनुभूति र स्मृतिलाई यो संस्मरणमा लेखकले उल्लेख गरेका छन् ।

अस्वीकृत विचार साहित्य पुरस्कार र कविताराम श्रेष्ठ : कृतिका रचनाकार वसन्त श्रेष्ठले २००८ मा ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ प्राप्त गरेका थिए । त्यो पुरस्कार प्राप्त गर्दा प्राप्तकर्ताको तर्फबाट धन्यवाद ज्ञापन प्रदान गर्दा बोलेको सानो कविता अंश यो कृतिमा राखेका हुनाले मैले पनि यो लेखमा स्थान दिएको छु ।

स्वीकृत समाजका अस्वीकृत विचारहरू सामन्तवादका अवशेषहरू निर्मूल पारौँ सम्पूर्ण भेदभावका पुरातन शैलीहरू
आऊ जुटौँ सबै स्वार्थ त्यागी
नयाँ नेपालको निर्माणका लागि !!!
उनले यस लेखमार्फत ‘अस्वीकृत विचार साहित्य पुरस्कार’ माथि प्रकाश पार्ने प्रयत्न गरेका छन् ।
‘नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उदय कथा’ : यस आलेखमा लेखकले एएनए र नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको उदय कथालाई उजागर गरेका छन् । उनी अनेसास जस्तो संस्थाका महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएका मानिस कसरी समानान्तर संगठन नेपाली साहित्य प्रतिष्ठान खोल्न र प्रथम अध्यक्ष बन्न पुगे भन्ने कुराको स्पष्टीकरणका रूपमा लेखिएको जस्तो आभाष पाइन्छ यो लेखमा कताकता ।

निष्कर्ष :
सक्रिय स्वतन्त्र विद्यार्थी जीवन व्यतीत गरिरहेका लेखक दैवको कठोर प्रहारले एकाएक ठेकेदारमा परिवर्तित भएको घटना कृतिको दुःखद पक्षको रूपमा उठान भएको छ जुन कुराले मन सम्भ्रमित बन्दछ । स्वदेशमै बसेर पनि राम्रो जीवन यापन गर्नसक्ने नेपालीले देश छाडेर प्रवासी बन्नुपर्ने अप्रिय तर अपरिहार्य जस्तो वातावरण सृजना भएकोमा बाहिर देख्ता राम्रो लागे पनि मनमा कताकता ग्लानि लाग्दछ । नेपाली छोराछोरी जब प्रवासी बन्छन् र शिक्षित सम्पन्न बन्छन् त्यहाँबाट एकप्रकारको आनन्द अनुभूत भए पनि त्यो अन्ततः चिरस्थायी हुँदैन देशमा भएका अभिभावक तथा प्रवास गएका दुवैलाई ।

वास्तवमा लेखले यो कृतिमा स्मृति र अनुभूतिलाई विवेकपूर्वक समिश्रण गरेर कृतिमाथि न्याय गरेका छन् । कृति पढ्दै जाँदा कताकता अनुभूतिहरू दोहोरिएको आभाष भने प्रतीत हुन्छ र आगामी कृतिहरू यो समस्याबाट मुक्त हुने अपेक्षा गरिन्छ । कृतिको लागि श्रेष्ठलाई धन्यवाद दिँदै उनका प्रकाशोन्मुख अन्य कृतिहरू चाँडै पढ्न पाउने अपेक्षाका साथ यो कृतिको सफलताको हार्दिक कामना गर्दछु । समाप्त ।

गत ९ गते सोमबारको अंक :

https://ehimalayatimes.com/2022/07/27967/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?