नेपाल-ब्राजिल चेम्बर अध्यक्षमा फेरि चापागाईं

Read Time = 4 mins

काठमाडौं । नेपाल-ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं फेरि निर्वाचित हुनुभएको छ । शनिबार राजधानीमा सम्पन्न संघको आठौँ वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा चेङ अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना रहनुभएको छ ।

सदस्यमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुँगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे रहनुभएको संघले जनाएको छ । सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने र अम्बिका शर्मा लामिछाने रहनुभएको छ । अध्यक्ष चापागाईंले दुई देशबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका खेल्दै आएको बताउनुभयो । संघका अनुसार गत आर्थिक वर्षमा नेपालबाट चार लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निर्यात भएको छ भने ब्राजिलबाट छ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ । नवनिर्वाचित अध्यक्ष चापागाईले भन्नुभयो, ‘हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौँ, नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौँ र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ ।’

नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्टजस्ता वस्तु निकासी भइरहेको छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेका र आगामी दिनमा पनि व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने उहाँले बताउनुभएको छ ।

पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्तरूपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पुँजी र प्रविधि भिœयाएर नेपालले फाइदा लिन सक्ने उहाँको भनाइ छ । ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो भने नेपालस्थित ब्राजिल दूतावासका मिनिस्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरी फिल्होले नेपाल-ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको भन्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्न सक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?