बर्खाले सडक बन्द भएपछि होमस्टे सुनसान

हिमालय टाइम्स
Read Time = 6 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । जेठ महिनासम्म बागलुङका होमस्टेहरू आन्तरिक तथा बाह्य पर्यटकले भरभराउ थिए । करिब दुई वर्ष कोरोनाका कारण थाला परेका होमस्टे संक्रमण घटेपछि पुनः उठेका थिए । असार दोस्रो सातादेखि होमस्टेहरू रित्तो बनेका छन् । पर्यटकको आगनम रोकिएपछि होमस्टे सञ्चालकसमेत फुर्सदिला भएका छन् । उनीहरू खेतीपातीको काममा व्यस्त भएका छन् । बर्खाका कारण होमस्टेसम्म पुग्ने सडकहरू समेत अवरुद्ध भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकहरूको आगमनमा कमी हुनु, ग्रामीण सडकहरूरु समस्याग्रस्त हुनु र बाढीपहिरोका घटनामा वृद्धि भएका कारण घरबासमा कमै मात्र पर्यटकहरू पुग्न थालेका हुन् ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबासहरू कोरोनापछि राम्रै चलेको पाइएको छ । असारअघि भने जिल्लामा राम्रै नाम कमाएका घरबासहरू सुनसान छन् । बर्खामा घरबास मात्रै हैन जिल्लाका पर्यटकीयस्थल, तथा होटल व्यवसायसमेत सुनसान जस्तै छन् । जिल्लाको चर्चित घरबासहरू मध्येको अतिथि सत्कार घरबास भकुण्डे, किकल्टा घरबास ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुंगा घरबास लगायतका घरबासहरूसमेत बर्खा लागेपछि सुनसान जस्तै छन् ।

अहिले बर्खा लागेपछि कमैमात्रमा घरबासमा पाहुना आउने गरेको भन्दै भकुण्डेस्थित अथिति सत्कार घरबासका सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै घरबासमा आउने पर्यटकहरूको संख्यामा वृद्धि हुने बताउनुभयो । ‘अहिले बर्खाले गर्दा होमस्टे ठप्पै जस्तै भएको छ, फाट्टफुट्ट पाहुना आए पनि पहिलाको जस्तो चहलपहल छैन, बर्खामा सडकको अवस्था नाजुक छ, हिँडेर आउनसमेत समस्या हुन्छ, हाम्रो घरबासमा पर्यटकहरू चैत, वैशाख र असोज, कात्तिकमा बढी आउछन्’ होमस्टे सञ्चालक थापाले भन्नुभयो, ‘बर्खामा घरबासका सञ्चालकहरू समेत कोदो रोप्ने चटारोमा हुन्छन्, पाहुना आए वर्खामा समेत हामीले स्वागत गर्नेछौँ, तर वर्खामा दृश्यावलोकनसमेत गर्न नपाइने भएकाले कम मात्रै भकुण्डेमा पाहुना आउने गरेका छन् ।’

यो सयम घरबासका लागिसमेत खासै राम्रो सिजन नभएको बताउँदै बागलुङको काठेखोला गाउँपालिका-३ धम्जास्थित बेलढुंगा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीषले अब दसैँ तिहारको सिजनलाई घरबासले तयारी थालेको बताउनुभयो । ‘होमस्टेमा पूरै अर्गानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्काउने चटारोसमेत छ, बाकोको सिन्की बनाउने कार्यसमेत भइरहेको छ’ श्रीषले भन्नुभयो, ‘दसैँ तिहारको सिजनमा आउने पाहुनाहरूलाई अर्गानिक उत्पादन खुवानका लागि आजैदेखि संकलन तथा भण्डारणमा जुटेका छौँ, अहिले स्थानीय खसी बोका, कुखुरासमेत तयारी गरिएको छ ।’

श्रीषले पाहुनालाई खुवाइने अर्गानिक उत्पादनमा जोड दिँदै यहाँका किसानहरूले भाङ्गो, आलु र सिन्की भण्डारण गरिरहेको बताउनुभयो । जिल्लामा रहेका २८ सामुदायिक घरबासमध्ये अधिकांश पाहुना एक दर्जन घरबासमा पुग्ने गरेका छन् । भौगोलिक रूपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका घरबासहरू राम्रोसँगै चल्दै आएको छ भने सञ्चालकहरूले समेत मनग्य आम्दानी गर्दै आएका छन् ।

ताराखोलाको ठूलो हिले घरबासमा जंगली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्की बनाउने कार्य चलिरहेको छ । ताराखोलामा उत्पादन भएको जंगली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुना पुग्ने गरेका छन् भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका लागि पाहुना त्यहाँ पुग्ने गरेका छन् ।

जिल्लाको चर्चित पर्यटकीय गन्तव्यको रूपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन होमस्टेहरू समेत अहिले सुस्ताएका छन् । जिल्लाका अधिकांश घरबासका सञ्चालकहरू खेतीपातीको काममा व्यस्त हुने गरेका छन् । जिल्लाभरका २८ सामुदायिक घरबासमध्ये रेशको माहुरी झरना घरबास, अर्नाकोट घरबास, किकल्टा घरबास, तोरीखोला घरबास, तथा अतिथि सत्कार घरबासमा बढी मात्रमा पहुनाहरू पुग्ने गरेका छन् ।

यी होम-स्टेहरूसम्म पुग्ने सडक सहज भएको हुँदा फाट्टफुट्ट पर्यटक पुग्ने गरेका हुन् । बर्खा रोकिएपछि सडक सञ्जालहरू सञ्चालनमा आएपछि मात्रै होमस्टेमा पाहुनाको चहलपहल हुने सञ्चालकहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?