टि-ट्वान्टी विश्वकपको भारतीय टोलीमा बुमराहका स्थानमा शामी खेल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

नयाँदिल्ली । आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टी-ट्वान्टी विश्वकपका लागि भारतले तीव्र गतिका बलर मोहम्मद शामीलाइ टोलीमा बोलाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीका कारण विश्वकप गुमाउने भएपछि उहाँको स्थानमा भारतले शामीलाई बोलाएको हो ।

यद्यपि शामीले गतवर्ष विश्वकपपछि भारतीय टोलीबाट टी-ट्वान्टी आई खेल भनेका खेल्नुभएको छैन । ३२ वर्षीय शामीले १७ खेलमा १८ विकेट लिनुभएको छ । तीव्र गतिका बलर मोहम्मद शामी पछिल्लो समय कोरोना देखिएपछि अष्ट्रेलिया र दक्षिण अफ्रिका सिरिज गुमाउनुभएको थियो ।

बुमराह घाइते भएपछि भारत अनुभवी बलर नै राखेको हो । भारतको वैकल्पिक सूचिमा शामी हुनुहुन्थ्यो । भारतीय तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, शामी, हर्षल पटेल र अर्शदीप सिंह रहनुभएको छ । गतवर्ष गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन शामीले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिनुभएको थियो ।

नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । डेथ ओभरमा हर्षल र अर्शदीप हुनुहुनेछ । भुवनेश्वर कुमारको प्रदर्शन राम्रो हुन नसक्दा शामी नयाँ बलका साथ पावर प्लेमा बलिङ गर्ने देखिन्छ ।

बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टी-ट्वान्टी विश्वकप गुमाउनुभएको हो । भारतले सन् २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कात्तिक अहिले पनि टोलीमा हुनुहुन्छ ।

त्यसपछि भारतले २०१४ को टि-ट्वान्टी विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टी-ट्वान्टी विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइण्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।

सिरिजमा सानदार प्रदर्शन गर्दै आए पनि ठूला प्रतियोगितामा भारत लगातार चुक्दै आएको छ । टी-२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न शहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई-दुई टोली पुग्नेछन् । भारतले वार्मअप खेलमा १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्यूजिल्याण्डसँग खेल्नेछ । २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?