जटिल बन्दै काठमाडौंको फोहोर व्यवस्थापन, सडकमा डंगुर, महानगर भन्छ- व्यवस्थापन गर्न अझै केही दिन लाग्छ

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको समस्या विकराल बन्दै गएको छ । गत वैशाखदेखि नियमित उठ्न नसकेको फोहोर व्यवस्थापन थप जटिल बन्दै गएको हो । बेलाबेलामा आंशिक रूपमा उठे पनि वैशाखदेखि नियमित फोहोर उठ्न सकेको छैन । सडकछेउ र गल्ली गल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तो बन्दै गएको छ । काठमाडौंको सडकमा फोहोर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमित रूपमा फोहोरको अन्तिम व्यवस्थापनको काम गरेका छैनन् । महानगरले नियमित फोहोर उठाउन छाडेपछि सडकमा जताततै फोहोर देखिन थालेको छ । काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, चाबहिल, कोटेश्वरलगायत स्थानका सडकमा फोहोरको थुप्रो लागेको छ । यी ठाउँमा मात्रै होइन काठमाडौंमा गल्ली गल्ल्लीमा फोहोरको डंगुर थुप्रिएको हो ।

यसले उपत्यकालाई दुर्गन्धित एवं फोहोर मात्रै बनाएको छैन महामारीको पनि उत्तिकै खतरा बढेको छ । केही समयदेखि उपत्यकामा हैजाका बिरामीसमेत बढ्दै गएका छन् । फोहोरका कारण फैलिने दुर्गन्धले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने देखिएको छ ।

छुट्याएको फोहोर पनि मिसाएर सडकमा
सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसकेको काठमाडौं महानगरले जनाएको छ । महानगरका अनुसार सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको हो । साउन ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो । तर, एकसाता भनेको महानगरले एकमहिना हुन लाग्दासमेत फोहोर उठाउन सकेको छैन । त्यसअघि नै महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरेको थियो । फोहोर नछुट्याएर जरिवाना गर्नेसमेत महानगरले चेतावनी दिएको थियो । महानगरको आग्रहपछि उपत्यकावासीले कुहिने र नकुहिने फोहोर छुट्याउन थालेका थिए । तर, नियमित फोहोर उठाउन नसकेपछि महानगरवासीले छुट्याएको फोहोर पनि मिसाएर सडक छेउमा राख्न थालेका छन् । बर्खामा दैनिक पर्ने पानीले सडकमा थुपारेको फोहोर पनि बगाएर अन्यत्र लैजाँदा झन् दुर्गन्ध फैलिएको छ । तत्काल फोहोर व्यवस्थापन गर्न नसके यसले थप जटिलता निम्त्याउने निश्चित छ ।

कुहिने फोहोर यहीँ व्यवस्थापन गर्न स्थान खोजिरहेका छौँ : महानगर
काठमाडौं महानगरपालिकाले भने फोहोर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने जनाएको छ । बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहोर व्यवस्थापन गर्न कठिन हुने कामपाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो । उपत्यकाको कुहिने फोहोर यहीँ व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको उहाँले जानकरी दिनुभयो । त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको उहाँको भनाइ छ ।

त्यसैगरी, बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् । स्थानीयका माग पूरा गर्न नसके भदौ १ बाट फोहोर व्यवस्थापनमा फेरि स्थानीयको अवरोध हुने निश्चित छ ।

यसअघि हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो । सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिक टन फोहोर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको थियो । उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गर्ने दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?