स्रष्टाहरूलाई प्रज्ञा पुरस्कारको घोषणा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७औँ प्राज्ञ सभाको बैठकले विभिन्न स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन सभालाई सम्बोधन गर्नुभएको थियो । यस्तै सोही अवसरमा विभिन्न स्रष्टालाई पुरस्कारको घोषणा गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानद्वारा जारी विज्ञप्ति अनुसार २०७९ का लागि रूपन्देहीका रामचन्द्र भट्टराईलाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, त्यसैगरी मधेस तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै, भोजपुरका प्रा.डा.प्रेमकुमार खत्रीलाई नेपाल प्रज्ञा संस्कृति पुरस्कार, काठमाडौंका प्रा.विद्यानाथ उपाध्यायलाई नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार, काठमाडौंका डा.नयनाथ पौडेललाई नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशि एक लाख रुपैयाँ छ । त्यस्तै २०७८/०७९ का लागि भारतको दार्जिलिङका नरबहादुर दाहाललाई दुई लाख रुपैयाँ राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र झापाका प्रा.डा.गोविन्दराज भट्टराईलाई पनि दुई लाख रुपैयाँ राशिकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

प्राज्ञ सभाको ३७औँ बैठकले आ.व.२०७९/०८० का लागि ३० करोड २० लाख ४२ हजार रुपैयाँको बजेट पारित गरेको छ । नेपाल सरकारबाट विगतभन्दा कम बजेट विनियोजन भएपछि नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ सभाको ३७औँ बैठकले थप रकम माग गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट र कार्यक्रम स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री सभाको उद्घाटन गर्दै नेपालको भाषा, साहित्य, कला र संस्कृति मुलुकको विशिष्ट गहना भएको बताउनुभएको थियो । उहाँले विश्वमा नेपाललाई परिचित गराउन भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभएको छ, ‘इतिहास निर्माणमा पुर्खाका योगदान हाम्रा गौरव हुन् । विविध जाति, भाषा, संस्कृति हाम्रा विशिष्ट सम्पदा हुन् । तिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो । यस कार्यमा प्रज्ञा–प्रतिष्ठानले ध्यान दिई हाम्रो बौद्धिक सम्पत्तिलाई विश्वसामु पस्कँदै ज्ञानको भण्डारलाई फराकिलो बनाउँदै लैजानुपर्छ ।’ उहाँले डेढ लाख शब्दसहितको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ तयारी हुँदै गरेको जानकारीले आफू उत्साहित भएको उल्लेख गर्दै प्रज्ञाको कार्यको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रज्ञा-प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालको उच्च प्राज्ञिक संस्था भएको बताउनुभएको थियो । यस्तै कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय, ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, राष्ट्रिय योजना अयोगका सदस्य रामकुमार फुयाँलले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?