पूर्वउपराष्ट्रपतिद्वारा भूकम्प पीडितको उद्धार, राहतमा तीनै तहका सरकारको ध्यानाकर्षण

रासस
Read Time = 2 mins

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले घाइते नागरिकको उपचार तथा प्रभावितलाई आवश्यक प्रबन्ध गर्न आग्रह गर्नुभएको हो ।

पूर्वउपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उद्धार र उपचारका लागि सरकारका विभिन्न निकायले देखाएको तदारुकताको प्रशंसा गर्नुभएको छ । उहाँले भूकम्प पीडितको उद्धार, राहत, पुनःस्थापना र भौतिक संरचनाको पुनःनिर्माणमा सहयोग गर्न देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल भूकम्पको उच्च जोखिममा रहेका सन्दर्भमा भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्वतयारीमा ध्यान दिनसमेत आग्रह गर्नुभएको छ । पूर्वउपराष्ट्रपति पुनले भूकम्पबाट भएको ठूलो मानवीय र भौतिक क्षतिबाट आफू स्तब्ध भएको जनाउनुभएको छ ।

उहाँले भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाइ गएराति ११ः४७ मा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?