उपसभामुखको मनोनयन आज, गठबन्धनको तर्फबाट पुष्पा भुसाल

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज (बिहीबार) मनोनयन दर्ताको काम हुँदैछ ।

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै, १ः३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।

उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ३ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने’ कार्यसूची छ।

अर्घाखाँचीकी भुसाल कांग्रेसको समानुपातिकतर्फको सांसद तथा संसद्मा कांग्रेसकी सचेतक हुनुहुन्छ । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी भुसाल पहिलो संविधानसभाको अर्घाखाँची–२ बाट निर्वाचित हुनुभएको थियो ।

डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजीनामा दिएसँगै प्रतिनिधिसभा उपसभामुख रिक्त रहेको थियो । २०७४ मा प्रतिनिधिसभा निर्वाचनलगत्तै पनि भुसाललाई कांग्रेसले उपसभामुखको उम्मेदवारका रूपमा अगाडि सारेको थियो । त्यसबेला उहाँ तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो । संवैधानिक निकाय तथा विभिन्न महत्वपूर्ण अंगहरूमा अध्यक्ष तथा पदाधिकारी नियुक्त गर्ने ६ सदस्यीय संवैधानिक परिषद्मा उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सभामुख सापकोटा माओवादीबाट निर्वाचित सांसद हुनुहुन्छ । २०७४ सालको आमचुनावमा पछि माओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख हुनुभएको थियो । यौन दुव्र्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिनुभएको थियो ।

संसदमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत रहेका कारण कांग्रेसका उम्मेदवारले सभामुखको निर्वाचन जित्ने अवस्था छ । प्रतिनिधिसभामा अहिले एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी चार जना सांसद छन् । उपसभामुखको उम्मेदवार छनोटबारे सत्तारूढ दलहरूले छलफल गरेर उपसभामुख कांग्रेसलाई दिने सहमति गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?