पुस्तक : जोन्छेँको ‘तृष्णामा अल्झिएको जीवन’

रत्न प्रजापति
Read Time = 12 mins

लेख्ने र लेखक बन्ने रहर धेरैलाई हुन्छ । जीवनमा केही लेख्ने कोसिस धेरैले गरेका हुन्छन् तर लेख्दैमा मात्र पनि कोही लेखक बन्दैनन् । लेखेका सबै कुरा सिर्जना पनि हुँदैनन् । लेख्नेहरू सबै लेखक पनि होइनन् । यसो त लेखनदासले जीवनमा धेरै लेखेको हुन्छ तर ऊ लेखक होइन । लेख्ने रहर गर्दैमा मात्र पनि सबैले लेख्न सक्दैनन् । सिर्जनाका लागि भावना र कल्पना चाहिए जस्तै सिर्जनालाई लिपिबद्ध गर्न लेखनशिल्पको पनि जरुरत पर्दछ । यस्तो लेखनशिल्प कसैमा हुन्छ, कसैमा हुँदैन । साधना र अभ्यासले लेखनशिल्पलाई तिखार्न चाहिँ सकिन्छ । लेखनशिल्प नभई हृदयका भावना र कल्पनालाई लिपिबद्ध गर्दैमा त्यो स्तरीय सिर्जना बन्न सक्दैन र प्रभावशाली लेखक पनि बन्न सकिँदैन ।

लेखनमा रुचि भएर लेखक बन्ने अभ्यासमा जुटेका सर्जक हुन् ध्रुवनारायण जोन्छेँ । एक दशकभन्दा बढी समय शिक्षण पेशामा लागेर अक्षरको खेती गरेका जोन्छेँ त्यसपछि सरकारी सेवामा प्रवेश गरी दुई दशकभन्दा बढी समय सेवा गरी सेवानिवृत्त भएका हुन् । सेवानिवृत्त भएपछि उनी पुनः अक्षरको खेतीमा जुटेका छन् । पेशागत तथा पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा केही समय लेख्ने रुचि र लेखक बन्ने रहरलाई थाँती राखेका जोन्छेँ सेवानिवृत्त भएपछि पुनः जोश, जाँगर र उत्साहका साथ लेखनकर्ममा जुटेका छन् । यसैको परिणामस्वरूप उनले एकै पटक केही समयको फरकमा दुईवटा कृति प्रकाशनमा ल्याएका छन्, ‘जीवन एक यात्रा अनेक’ (कवितासङ्ग्रह, २०७७) र ‘तृष्णामा अल्झिएको जीवन’ (लेख-निबन्धसङ्ग्रह, २०७७) ।

एकै पटक दुईवटा कृति प्रकाशनमा आउनु लेखनप्रतिको समर्पणको परिणाम हो भन्न सकिन्छ । आफ्ना भोगाइ र अनुभूतिहरूलाई आफैँभित्र सीमित नराखी लेखनको माध्यमबाट सार्वजनिक गर्नु समाजसेवाकै एउटा पाटो हो भन्न सकिन्छ । यसलाई ग्रहण गरेर अथवा मनन गरेर समाज लाभान्वित हुनसक्यो भने लेखक पनि सफल भएको मान्न सकिन्छ । मनमा अटेसमटेस भएर बसेका भावना र भोगाइका तीतामीठा अभिव्यक्तिलाई लिपिबद्ध गरेर पाठकसम्म पुर्‍याउने रहरलाई लेखक बन्ने रहरमात्रै नभनी साहित्यको सेवा पनि भन्न सकिन्छ । शिक्षण पेशा र सरकारी सेवामा रही जनता र देशको सेवा गरिसकेका लेखक जोन्छेँको साहित्य सेवा गर्ने रहर सराहनीय छ

समीक्ष्य कृति ‘तृष्णामा अल्झिएको जीवन’ लेख-निबन्धसङ्ग्रहमा १९ वटा लेख–निबन्धहरू सङ्गृहीत् छन् । विभिन्न समयमा लेखिएका र विभिन्न विषयका यी लेख–निबन्धहरूले पाठकहरूलाई पठनको मिश्रित स्वाद दिनेछन् । जीवनका आरोहअवरोह र सुखदुखका भोगाइ र अनुभूतिहरूलाई साहित्यिक मीठासको लेपन लगाएर लिपिबद्ध गरिएका लेख–निबन्धहरूले अवश्य पठनको आनन्द प्रदान गर्नेछन् ।

सङ्ग्रहको पहिलो लेख हो ‘मान्छेको सच्चा साथी बैङ्क पासबुक’ । आपत् पर्दा आफन्तले पनि सहयोग नगरेको तीतो भोगाइ यसमा अभिव्यक्त भएको छ । धेरै याचना गर्दा पनि कसैले मद्दत नगरेको र अन्त्यमा विगतमा एउटा बैङ्कमा खाता खोलेर तीन सय रुपैयाँ जम्मा गरेकोमा अहिले ब्याजसहित चार सय हरूैयाँ हात परेकाले बैङ्कको पासबुक नै सच्चा साथी भएको लेखकको बुझाइ छ । ‘परदेशीको बिलौना, स्वदेशको सम्झना’ मा स्वदेशको आर्थिक स्वतन्त्रता र आत्मनिर्भरताका लागि प्रजातान्त्रिक व्यवहारलाई संस्थागत गर्नुपर्ने विचार अभिव्यक्त भएको छ । साथै स्वदेशको विकासका लागि विदेशमा होइन स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने राष्ट्रिय भावना पनि पोखिएको छ । तर, यस लेखमा समयका हिसाबले केही असान्दर्भिक प्रसङ्ग पनि परेकाले पठनमा केही असहजता महसुस हुन्छ । प्रशंसा गर्नु पनि कला हो र प्रशंसाले उत्साह र प्रेरणा जगाउँछ र अनेक सफलता प्राप्त हुन्छ भन्ने सन्देश ‘प्रशंसा एक, सफलता अनेक’ मा छ । यसैगरी रिसले मानिसको आन्तरिक तथा बाहृय व्यवहारमा असन्तुलन ल्याउँछ र यसले मानसिक तथा शारीरिक हानि पुर्‍याउँछ । त्यसैले रिसाउने बानी राम्रो होइन भन्ने सन्देश ‘रिसाउने बानी’ मा छ ।

‘जीवनसाथीको छनौट’ मा जीवनसाथीको छनौटमा केकस्तो कुरामा ध्यान पुर्‍याउनुपर्छ र ककसले यस्तो कुरामा ध्यान पुर्‍याउनुपर्छ भनेर सुझावहरू दिइएका छन्, जुन सबैका लागि उत्तिकै उपयोगी छन् । गौतम बुद्धका शान्ति सन्देशको महत्व र नेपालको शान्तिप्रतिको प्रतिबद्धताको सान्दर्भिकताको व्याख्या ‘शान्तिका अग्रदूत गौतम बुद्ध र शान्तिको देश नेपाल’ मा गरिएको छ । मानव सेवा र परोपकार नै सच्चा सुखको बाटो हो भन्ने सन्देश ‘सुखको बाटो’ मा छ । दीनदुखीको सेवामा जीवन अर्पण गर्दा शान्ति र सन्तुष्टि मिल्छ । जीवन कसैलाई पीडा दिनका लागि होइन सेवा गर्नका लागि हो भन्ने सन्देश ‘सेवा नै जीवन’ मा छ ।

सङ्ग्रहमा सङ्गृहीत् लेख-निबन्धहरू अहिले नभई अलि पहिले नै लेखिएजस्ता लाग्छन् । विषय र सन्दर्भले यस्तै छनक दिन्छन् । त्यसैले लेखहरूमा परिष्कार र परिमार्जनको आवश्यकता महसुस हुन्छ । भाषिक कमजोरीहरू पनि छन् ।

‘तृष्णामा अल्झिएको जीवन’ सङ्ग्रहको शीर्षक लेख-निबन्ध हो । वास्तवमा यो लेख वा निबन्ध नभई कथा नै हो । प्रेम र जीवनको कथानक छ । झट्ट हेर्दा शीर्षकले यो कुनै धार्मिक विषयको लेखजस्तो लाग्छ तर यो एउटा प्रेमकथा हो । जसमा तृष्णा र जीवनको प्रेमको प्रसङ्ग छ । तृष्णाबाट धोका पाएको छ जीवनले । तैपनि ऊ तृष्णासामु आक्रामक र विद्रोही होइन, शान्त र संयमित प्रेमीको रूपमा प्रस्तुत भएको छ । ऊ धोका दिने प्रेमिकालाई पनि सफल जीवनको शुभकामना दिन्छ । आदर्श प्रेमीको रूपमा प्रस्तुत गरिएको छ प्रेमी जीवनलाई । कुनै भौतिक वा यौनिक सुखसयलको तृष्णामा नभई तृष्णा नामक पात्रसँग अर्का पुरुष पात्र जीवन अल्झिएकाले यसको शीर्षक ‘तृष्णामा अल्झिएको जीवन’ राखिएको छ । यो लेखको शीर्षक चयनमा लेखकको कुशलता झल्किन्छ । तर अन्य लेख-निबन्धहरूको उपयुक्त र आकर्षक शीर्षक चयन हुन सकेको छैन ।

‘अनुशासन र स्वतन्त्रता’ मा जीवनमा अनुशासन र स्वतन्त्रताको आवश्यकता र महत्व दर्शाइएको छ । यसैगरी ‘हलो जोते मामैमाम’ मा खेती गरे अन्नको अभाव हुन्न भन्ने सन्देश दिँदै नेपालको कृषिको महत्वलाई प्रकाश पार्ने कोसिस गरिएको छ । अनि ‘देश परदेश तीता सत्य अनेक’ मा चाहिँ भ्रमणका बेला भागिएका तीता भोगाइहरूको वर्णन छ । यीबाहेक सङ्ग्रहमा केही जीवनीपरक लेख-निबन्धहरू पनि छन् । जसअनुसार कविवर माधव घिमिरे, बीपी कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल, आदिकवि भानुभक्त आचार्य आदिका बारेमा जीवनीपरक टिप्पणी प्रस्तुत गरिएका छन् । यसैगरी राष्ट्रिय पक्षी डाँफे र अति लोकप्रिय खाद्यपदार्थ आलुका बारेमा पनि चर्चा गरिएको छ ।

सङ्ग्रहमा सङ्गृहीत् लेख-निबन्धहरू अहिले नभई अलि पहिले नै लेखिएजस्ता लाग्छन् । विषय र सन्दर्भले यस्तै छनक दिन्छन् । त्यसैले लेखहरूमा परिष्कार र परिमार्जनको आवश्यकता महसुस हुन्छ । भाषिक कमजोरीहरू पनि छन् । विषयवस्तु गहकिलो भइकन पनि विचार, चिन्तन र विश्लेषण पक्ष सशक्त हुन नसक्दा गुणस्तरको मापदण्डमा जोन्छेँका लेख-निबन्धहरू अलि कमजोर लाग्छन् । विषयवस्तुले आकर्षित गरे पनि अलि फितलो प्रस्तुतिले गर्दा पठनीयता कमजोर बनेको छ । जोन्छेँमा लेखनका लागि आवश्यक भावना र कल्पनाशीलता छ । पुस्तक प्रकाशनलाई केवल रहरको रूपमा नलिई साधना र अभ्यासलाई निरन्तरता दिए जोन्छेँ सफल लेखक बन्न सक्नेछन् । उनीबाट स्तरीय सिर्जनाको अपेक्षा गर्ने ठाउँ प्रशस्त छ । ‘तृष्णामा अल्झिएको जीवन’ लेख-निबन्ध विधा हो । जोन्छेँको यस पुस्तकको प्रकाश कमीरा जोन्छेँ हुनुहुन्छ । ९८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ । यो यस पुस्तकको पहिलो संस्करण हो जुन २०७७ साल चैत महिनामा सार्वजनिक भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?