राष्ट्रिय खेलकुदको सुरक्षाबारे छलफल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरूसँग जानकारी लिनुभएको हो । सुरक्षा उपसमिति संयोजक रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रबन्धबारे जानकारी गराउनुभयो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी जोशीको संयोजकत्वमा विभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुखसमेत सदस्य रहने गरी उपसमिति गठन भएको छ ।

सुरक्षा उपसमितिलाई खेलस्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथिलगायतको सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्य-सचिव घिसिङले आग्रह गर्नुभयो । छलफलमा कार्यकारी समितिका सदस्य-सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्य-सचिव तेजबहादुर गुरुङ, खेलकुद विकास विभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो ।

नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामा नै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक÷एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ ।

प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडीबिच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा ७०८ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कुल सात हजार ७८८ खेलाडीमात्र सहभागी हुने सदस्य–सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । खेलाडीबाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।

नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट सुरु गरिसकेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो ।

विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला हृयान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?