राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहका बीच उहाँहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजिलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) ले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको समेत सहभागिता रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?