अनेमसंघको सदस्यहरूले किन च्याते अध्यक्ष मण्डलको माईनुट ?

हिमालय टाइम्स
Read Time = 4 mins

-राधिका बुढाथोकी

सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको छ । अध्यक्ष मण्डलले सदस्यहरूको चाहना विपरित जवर्जस्ती नेतृत्व चयनमा हस्तक्षेप गरेको थियो । महिलाहरूले अध्यक्ष मण्डलको माईनुट च्यातेर चर्का विरोध गरेपछि अधिवेशन त्यतिकै सकिएको हो ।

अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै सदस्यहरुले अध्यक्ष मण्डलको अध्यक्षको हातमा भएको माईनुट खोसेर च्यातेका अखिल नेपाल महिला संघ पाँचौ जिल्ला सम्मेलन प्रचारप्रसार उपसमितिकी संयोजक विमला पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष मण्डलको अध्यक्षमा अनेमसंघका जिल्ला इन्चार्ज रश्मिला देवकोटा हुनुहुन्थ्यो । त्यस्तै, सदस्यहरूमा नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव मञ्जु देवकोटा, अनेमसंघका केन्द्रीय सदस्यहरू रमा शर्मा, सुकुमाया तामाङ र मिना कार्की हुनुुहुन्थ्यो ।

उहाँका अनुसार अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ मा सदस्य छनौटपछि छानिएका सदस्यहरूको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था छ । अध्यक्ष मण्डलले अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो । विधानको धारा २९ मा रहेको सदस्य तथा पदाधिकारी चयनको व्यवस्था अध्यक्ष मण्डलले उलंघन गरेपछि सदस्यहरूले माईनुट च्यातेका हुन् ।

सम्मेलनले ६७ जना सदस्य सर्वसम्मत चयन गरेको छ । पदाधिकारी चयनमा विधानमा भएको व्यवस्था विपरित सदस्यहरुको अधिकार अध्यक्ष मण्डलले खोसेको सदस्यहरूको आरोप छ । पहिलो बैठकबाट सदस्यहरूलाई पदाधिकारी चयन गर्न त्यसअघि पनि सदस्यहरुले माग गरिरहेका थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा पार्टीले विधानको व्यवस्थालाई समेत कुल्चेर काम गरेको महिलाहरुको आरोप छ । विधान विपरित बनाईएको पदाधिकारी मान्य नहुने भन्दै महिलाहरु आक्रोशित बनेका थिए । उनीहरूले मतदानको अधिकार पाउनुपर्ने माग समेत दिनभर राखेका थिए ।

अनेमसंघको जिल्ला सम्मेलन शनिबार र आइतबार सिन्धुलीमाढीमा भएको थियो । जिल्लाभरबाट अधिवेशनमा ३९५ जना प्रतिनिधि सहभागि रहेको आयोजकले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?