सकिँदैछ बाढीले खेतियोग्य जमिन, मानव बस्तीले हरियो वन

Read Time = 9 mins

-राधिका बुढाथोकी
सिन्धुली । कमला नदी नेपालको दोस्रो स्तरको नदी हो । सिन्धुली, उदयपुर, सिराहा र धनुषा हुँदै भारतको गंगा नदीमा गएर मिसिन्ने यस नदीले कमलाखोँच क्षेत्रको खेतियोग्य जमिन सकाउँनै लागेको छ । बर्षातको समयमा नदीमा आउने बाढीले जीविकोपार्जनको मुख्य आधार भएको जमिन मरुभूमि बनाइ दिएको छ ।

यो श्रृखला रोकिएको छैन । बाढीले बर्षेनी जमिन कटान गदैँ आएको छ । अन्नबाली उब्जनी हुँदै आएको जमिनमा ढुङ्गा, गिटी, गेगर र बालुवा थुपारिदिएपछि जग्गाधनी वन, जंगल फडानी गरेर बस्न बाध्य छन् । यो कमला नदी किनार वारीपारी बस्ने स्थानीयवासीको यथार्थ हो ।
‘२०४० सालसम्म नदी कुलो आकारमा छाल हान्दै बग्थ्यो । त्यसको दायाँबायाँ रहेको खेतको माटो मलिलो थियो । त्यहाँ कृषकले धान, मकै लगायत अनेक प्रजातिका मौसमे र बेमौसे बाली लगाउँथे । फाँटहरू हराभरा थिए । सानो संख्यामा रहेका सुकुम्बासीहरुले पनि बेसाएर खानु पर्दैनथ्यो । धेरै जग्गा हुनेहरूकोमा मजदुरी गरेर जीवीका चलाउने गर्थे ।

२०४१, २०५० साल र त्यसपछि बर्षायामको समयमा बर्षेनी पटक–पटक कमला नदीमा आएको बाढीले सयौँ विगाह उर्वरभूमिलाई मरुभूमिमा परिणत गरिदियो । खेतीयोग्य जमिन कटान त गर्यो नै, खेतको फाँटमाथि रहेको बस्ति पनि बगाउन थाल्यो । जंगल फडानी गरेर बस्ति वन क्षेत्र तर्फ सदैँ गयो,’ दुधौली नगरपालिका–३ का वडा सदस्य प्रधान अधिकारी (दनुवार) ले सुनाउनु भयो ।
बाढीले बगर बनेको त्यो जमिनलाई फेरी उर्भरभूमि बनाउन चाहन्छन्, यहाँका जग्गाधनीहरु । मरुभूमिमा हरियाली भित्र्याउने उहाँहरूको चाहना छ । तर, कसरी ? चिन्ता कायम छन् । कारण, यो कहर भनिसाध्य छैन । ढुंगा, गेगर र बालुवा पन्छाएर बगरमा माटो भर्न सक्ने अवस्था उहाँहरुमा छैन् । गर्नै नसकिने पनि होइन तर, प्रविधि र पैसाको कमी छ ।

दुधौली नगरपालिका–९ का किसान रामप्रसाद दनुवारको दुई विगाह फाँट बगर बन्यो । अहिले उहाँको परिवार सुकुम्बासी जीवन बिताइरहेको छ । ‘मजदुरी गरेर भोक मेट्दै छौँ, गरिखाने खेत बगर बनिहाल्यो, के गर्नु ? ऋण गरेर जमिन बनाउँला, फेरि कुन दिन बाढी आएर लैजान्छ टुंगो हुन्न,’ उहाँले सुनाउनु भयो । दुधौली नगरपालिका–२ का किसान बुधे कुमरको पीडा पनि उस्तै छ । कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएपछि अहिले दैनिक मजदुरी नगरे चुलोमा आगो बल्दैन । सोही ठाउँका मुसरु अधिकारी दनुवारको विरहले पनि धेरैको कथा बोल्छ । उहाँको एक विगाह कमला नदीले कटान गरेको वर्षाँै भयो । यहाँ बालीनालीको सुरसार गर्नै सक्नु भएको छैन । दनुवारका आठ सन्तान छन् । ती लालाबालालाई अरुको खेतबारी खनेरै हुर्काउनु भयो । अहिले पनि उहाँको परिवार बनिबुतो गरेरै जीवन धानीरहेको छ । उहाँको होस्टेमा हैंसे गर्ने न कुनै सरकार आए, न त पार्टी । ‘म किसान पाटी हुँ, लेखपढ् छैन, अरुको खेत खनजोत गर्ने होे, खाने हो,’ उहाँले भन्नु भयो ।
२०४१ र २०५० मा कमला नदीमा आएको बाढीले कमलाखोंच क्षेत्रमा बढी क्षति हुनेगरी खेतीयोग्य जमिन कटान भएको यहाँका स्थानीय जेष्ठ नागरिकहरु बताउँछन् । कतिपय बाढी पीडितहरूले स्थानीय स्तरमा मजदूरी समेत गर्न पाएका छैनन् । उहाँहरू बालुवालाई माटोमा परिणत गरेर हरियाली कायम गर्न सक्ने अवस्थामा नभएपछि घरदेश छोडेर परदेश र केही गाउँबाट सहर पसेर गुजारा चलाउने आधारको खोजी गरिरहेका छन् ।
कमला नदी लगायतका खहरे र खोलाबाट खेतियोग्य जमिन र बस्तिको संरक्षण गर्नु अहिलेको आवश्यकता हो । दुधौली नगरपालिकाले अघिल्लो बर्षदेखि गुरुयोजना बनाएर नदीमा करिडोर निर्माणको कामलाई अगाडी बढाएको छ । करिडोर निर्माण गर्नुपर्ने ठाउँ धेरै रहेको तर बजेट भने न्यून रहेकाले निरन्तर काम अगाडी बढ्न नसकेको नगर प्रमुख दिनेश अधिकारी दनुवार बताउनु हुन्छ । ‘यसका लागि ८ अर्ब बजेटको आवश्यकता पर्ने देखियो,’ उहाँले भन्नु भयो,’ चालु आर्थिक बर्षमा दुई अर्बको काम गर्ने तयारी छ । बजेट व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारबीच समन्वय भइरहेको छ ।’

कमला नदी नियन्त्रण गर्न करिडोर गरेर मात्र नहुने उहाँले बताउनु भयो । ‘दुधौलीमा कमला नदी नियन्त्रण गर्न करिडोरको व्यवस्था गरेर मात्र समस्या समाधान हुँदैन, चुरे क्षेत्रबाट कमला नदीमा जोडिएका खहरेहरु (विशेषगरी दुनपा–३, ६ र ११ मा संयौँ संख्यामा रहेका) नियन्त्रण गर्नु पर्छ,’ उहाँले भन्नु भयो । नदी कटानले दुधौली नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० का स्थानीयबासिन्दा तथा किसान बढी प्रभावित छन् । खहरे नियन्त्रण गदैँ कमला नदीलाई करिडोरको रुपमा सम्पन्न गर्ने गरि आफू र आफ्नो टिम अगाडी बढेको नगर प्रमुख अधिकारी दनुवारको भनाई छ ।
कमला नदीमा आउने बाढीले मात्र होइन, वन, जंगल विनासले बर्षातमा चुरे क्षेत्रबाट पाखै बगेर आउने खहरेबाट पनि दुधौली नगरपालिकाका स्थानीयबासिन्दा र किसान पीडित छन् । खहरेको भेलले उर्भर जमिन बगरमा परिणत भएको छ । कमलानदी र खहरेको भेलले, भएको खेतियोग्य जमिन बगरमा परिणत भएपछि जंगल फडानी गरेर बस्नेहरुको संख्या बढेको दुधौली नगरपालिका–३, नेपाली काँग्रेसका वडा सभापति यदु घिमिरे बताउनु हुन्छ । उहाँकाअनुसार दुधौली नगरपालिका–३ मा पनि जंगल फडानी गरेर बस्ति विस्तार हुँदै गएको छ । कतिपयले घर, गोठ बनाएर बस्न समेत थालेका छन् । ‘यहाँका पीडितलाई बाढीले बगर बनेको जमिन उब्जानीका लागि तयार गर्नेदेखि उत्पादन भित्र््याउनसम्म चाहिने प्रविधि, बीउ, सिंचाई सुविधा र दक्ष कृषि प्राविधिक चाहिएको छ । यसका साथै, बाँकी रहेको जग्गा, जमिन, घर र घडेरी संरक्षण गरिदिनु पर्ने स्थानीय बासिन्दाको माग छ,’ उहाँले भन्नु भयो ।

कमला नदी र बर्षातको समयमा आउने खहरेलाई नियन्त्रण गर्न दिर्घकालीन उपाय नअपनाए बाढीले खेतियोग्य जमिन र मानव बस्तिले हरियाली वन सकाउने दुखद अवस्था रहेको उहाँले बताउनु भयो ।

डिभिजन वन कार्यालयको तथ्यांक अनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर रहेको छ । योमध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ । चुरे जंगलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भइसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?