साहित्यकार आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णयसहितको विज्ञप्तिमा उहाँका योगदानलाई उल्लेख गरिएको छ । परिषद् अध्यक्ष गंगा लामीटारे र सचिव खेम रिजालरा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रकाश आङ्देम्बे, त्यो व्यक्ति हो जसले शरणार्थी शिविरको एउटा घोर निराशाजन्य अवस्थामा थुप्रै युवायुवतीलाई साहित्यको, सिर्जनाको नयाँ संसारतिर डोर्‍याउन अभिप्रेरित गर्‍यो । जुनबोला शरणार्थीहरूलाई स्थानीयहरूले अनेक बहानामा लाञ्छना लगाउने अनि अपमानपूर्ण र तिरस्कृत दृष्टिले हेरेको समयमा सिर्जनाका माध्यमबाट भुटानी समाजलाई नेपाली समाजसँग जोड्ने क्रियाशील हुनुहुन्थ्यो । तपाइँकै लेखन तथा निर्देशनमा भुटानीहरूसँग सम्बन्धित चलचित्र ‘देश खोज्दै जाँदा’ बनेको छ ।

एउटा कहालीलाग्दो समयमा रुमल्लिरहेका भुटानी नवप्रवेशी लेखकहरूका आशा, भरोषाका केन्द्र तथा साहित्य साधकको रूपमा चित्रण गर्दै परिषद्ले साहित्यकार आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको’ विज्ञप्तिमा उल्लेख गरेको छ ।’ परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समिक्षा कार्यक्रममा पुरस्कार प्रदान गर्ने विज्ञप्तिमै जानकारी दिएको छ ।

आङ्देम्बेले पुरस्कार दिने निर्णयप्रति आफ्नो फेसबुकमार्फत ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जनाउनुभएको छ । प्रकाश आङ्देम्बेको लेख्नुभएको छ, ‘धेरै सम्मान/पुरस्कारहरू अस्विकार गर्दै आइरहेको बेला जब साहित्य परिषद् भुटानको यो प्रस्ताव पाएँ निक्कै दिन सोचमग्न भएँ । हुन्छ भनौ या हुन्न भनौं । अन्ततः नेपालीभाषी भूटानीहरूको सबैभन्दा अभिभावक साहित्यिक संस्था, सबैभन्दा महत्वपूर्ण योगदान पुर्‍याएको ऐतिहासिक संस्थाले निःस्वार्थ सम्झेकोमा ‘पुरस्कार’ नभई ‘प्रेम’ सम्झेर ग्रहण गर्ने जमर्को गरेको छु ।’

भुटानी शरणार्थी युवा पुस्तामाझ साहित्य, कलाको योगदानमा अनवरत लागिरहनु भएका आङ्देम्बे भुटानी स्रष्टा र नेपाली स्रष्टाबीच सम्बन्ध स्थापित गर्ने मध्येका प्रमुख पात्र मानिनु हुन्छ । उहाँका हिजोआज गजल संग्रह, ग्यास च्याम्बरमा बुद्ध रुबाई संग्रह, वेश्यासँग बिताएको साँझ कथा संग्रह, सृष्टि प्रलयको संघारमा नाटक, प्रकाश आङ्देम्बेका रूबाइयात, म एउटा बिहान हिँडिरहेछु कवितासंग्रह प्रकाशित छन् । त्यस्तै उहाँ भुटानी शरणार्थी बारे निर्माण गरिएको चलचित्र देश खोज्दै जाँदाको लेखक/निर्देशक पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?