आज हरितालिका तिज, भगवान् शिवको उपासना गरेर मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हिन्दू नेपाली महिलाहरूले आज महत्वपूर्ण चाड तिज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मिठा–मिठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तिज हो । प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वित रूपमा तिज भने पनि खास तिज चाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् ।

भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तिज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

साउने संक्रान्तिदेखि तिजको रौनक सुरु हुने गर्दछ । तिजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको पर्व हो तिज ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलोपटक व्रत बस्नुभएको थियो । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रही आएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर व्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ ।

तिजको दिन बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरलगायत देशभरमा शिवालयहरूमा महिला व्रतालुको ठूलो भिड लाग्ने गर्दछ ।

यस पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, अन्य दलका अध्यक्ष तथा नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा हिमालय टाइम्स परिवारको तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?