दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ : माधव नेपाल

फाईल तस्बिर

Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताउनु भयो ।

उहाँले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताउनु भयो । उहाँले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले दलित समुदायमाथि विभेद गर्नु नहुने भनि संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको बताउनु भयो । त्यस्तै सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उहाँले महिलाहरुलाई पनि हिंसा बाट मुक्त गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ । यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो ? त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ । सुदूरपश्चिमतिर त अझै महिलाहरुलाई विभिन्न हिसावले अत्याचार गरिन्छ । सुनिन्छ, त्यहाँ छाउपडी प्रथाको नाममा घरमा बस्न दिइदैन । दलितहरुलाई विभिन्न हिसाबले अपमानपूर्ण व्यवहार गरिन्छ । नागरिकताकै प्रशंगमा, मान्छेले आफ्नो नाम लेख्न नपाउने । र ति कस्ता प्रशासकहरु जसले त्यस्ता कुराहरुको बारेमा यो हुँदैन भन्न नसक्ने । त्यस हुनाले हाम्रो सिंगो चिन्तन बदल्ने परिवर्तनको आवश्यकता छ । तपाई हामी हातेमालो गर्दै यो सबै विभेदहरुको, अपमानपूर्ण व्यवहारहरु अन्त्य गर्नैपर्छ । महिलालाई पनि असमानता र विभेद, महिला हिंसाको घटनाबाट पीडित हुनुपर्ने अवस्थाबाट मुक्त गर्नैपर्छ । त्यसैगरी गरिबी र अभावबाट पिल्सिएका समुदायलाई, अल्पसंख्यक समुदायलाई, लोपोउन्मुख जातिहरुलाई कसरी संरक्षण गर्ने यो सबै विषयमा हाम्रो ध्यान जानैपर्छ ।’

उहाँले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?