केन्याविरुद्धको सिरिजमा नेपालको क्लिन स्विप

Read Time = 3 mins

काठमाडौं । केन्याविरुद्धको तीन एकदिवसीय अभ्यास खेलको सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको जित हात पार्दै सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो ।

जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले ४९ बलमा ७ चौकासहित ५२ रन जोडे । यस्तै कप्तान रोहित पौडेल ४६ बलमा ४ चौकासहित ४६ रन थपे । दुबैजना अविजित रहे ।

पाँचौं विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गर्नुभएपछि नेपालको जित पक्का बनेको हो । त्यसअघि नेपालका लागि अर्जुन साउदले ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनको अर्धशतकीय पारी खेल्दै सानदार सुरुवात दिलाएका थिए । त्यसबाहेक ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रनमा आउट भए। दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी भएपछि नेपाल लक्ष्य प्राप्तीको बाटोमा अघि बढेको हो ।

अर्का ओपनर आसिफ शेखले समेत ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोडेका थिए । केन्याका विरज पटेलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए।

त्यसअघि केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको ८४ रन जोडे ।

यस्तै लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिनुभयो भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए। यसअघि एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो ।

त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?