प्रधानमन्त्रीसँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट, ‘अग्निपथ’बारे भएन कुरा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा रहनुभएका सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा शिष्टाचार भेटघाट गर्नुभएको हो । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार भेटमा रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच शुभकामना आदानप्रदान भएको थियो । यसअघि उहाँल मंगलबार बिहान माउन्टेन फ्लाइट गर्नुभएको थियो भने बेलुकी ५ बजे पशुपतिनाथको दर्शन गर्नसमेत पुग्नुभयो ।

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभई उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । भ्रमणकै क्रममा उहाँले उक्त कलेजमा तालिमरत सैनिक कमान्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नुभएको थियो ।

जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभई पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्र्वाटरको भ्रमण गर्नुहुने कार्यक्रम छ । सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुभएको थियो । बिहीबार नेपालस्थित भारतीय राजदूतावासको भ्रमण सकेर उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्षको भेटका क्रममा भारतीय सेनाले अघि सारेको ‘अग्निपथ योजना’बारे भने कुनै छलफल भएन । भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी अग्निपथ योजना अघि सारेको छ । नेपालले उक्त कार्यक्रमलाई लिएर कूटनीतिकस्तरमा पत्राचार र राजनीतिक रूपमा दलहरूबीचमा छलफल हुन बाँकी भएका कारण भेटमा अग्निपथबारे कुराकानी नभएको बालुवाटार स्रोतको भनाइ छ ।

भारतले भर्तिका लागि मिति तोकिसकेपछि नेपालले स्थगित गर्न भनेको थियो । त्यसलाई लिएर भारतीय सेनाध्यक्षले प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा कुरा उठाउन सक्ने अनुमान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?