विद्यार्थी संगठनलाई पार्टी नेतृत्वले पुलपुल्यायो : शर्मा

पार्टीलाई एकताबद्ध गरेर लैजाने उत्तराधिकारी तयार होऊन् : प्रचण्ड

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादीकै नेतासमेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै घोचपेच भएको छ । अखिल क्रान्तिकारीले चुनाव केन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा प्रचण्ड र शर्मा एक अर्काप्रति दोहोरी चलेको हो । कार्यक्रममा पहिले सम्बोधन गर्नुभएका शर्माले अध्यक्षकै आलोचना गर्नुभयो ।

विद्यार्थी संघमा देखिएको अराजकताको जिम्मेवार प्रचण्ड नै भएको भन्दै शर्माले नेतृत्वले यस्तो गतिविधि पुलपुल्याउन नहुने उहाँको धारणा थियो । ‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गरिदिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो । अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुलपुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन,’ उहाँले भन्नुभयो ।

शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि नेतृत्वको गल्तीलाई स्वीकार्न नसक्ने बताउनुभयो । आफू प्रचण्डको आलोचक भएको बताउँदै उहाँले भन्नुभयो, ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ । सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो । त्यो कुराप्रति म गम्भीर छु । तर, नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो । अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ । अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ,’ शर्माले भन्नुभयो,’ नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन ।’

शर्माको आक्रोश सुनेपछि अध्यक्ष प्रचण्डले पनि उस्तै जवाफ फर्काउनुभयो । उहाँले जनार्दनको रक्षा र विकास गर्न आफूले भूमिका खेलेको समेत बताउनुभयो । ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो,’ उहाँले भन्नुभयोे, ‘उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ । म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चिज भएकै छ । अब म लाखौँ उत्तराधिकारी तयार पार्न चाहन्छु । तिनले पूरै पार्टीलाई एकताबद्ध गरेर लैजाऊन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढून् ।’

दाहालले पार्टीमा एक मात्र उत्तराधिकारी हुन नहुने धारणा राख्नुभयोे । उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयोे, ‘हजारौँ र लाखौँ उत्तराधिकारी तयार होऊन् । यही मेरो सपना छ । तपाईं विद्यार्थी साथीहरूले एकताबद्ध भएर यो सपना पूरा गर्नको लागि सहयोग गर्नुस् । यही अपिल र आग्रह छ ।’

शर्माद्वारा उपमहासचिव पद अस्वीकार
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्नुभएको छ । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रूपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताउनुभएको हो । शर्मा, महासचिवका दाबेदार हुनुहुन्थ्यो । तर, ४ भदौमा देव गुरुङलाई महासचिव बनाउँदै अध्यक्ष प्रचण्डले शर्मालाई उपमहासचिव बनाउनुभयो । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राख्नुभएको थियो । पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भन्नुभयो, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?