आगामी निर्वाचनलाई विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्रधानसेनापति शर्माको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय वातावरणमा सम्पन्न गर्न आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मतपत्र छपाइ सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत विस्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षाजस्ता जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको हो ।

‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको थियो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सूक्ष्म अध्ययन र विश्लेषण गर्दै प्रधानसेनापति शर्माले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गर्नुभयो ।
नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्दे राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेसागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गर्नुभएको थियो ।

शर्माले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्टट्र््याक) सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न निर्देशनसमेत दिनुभएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको समीक्षा गर्नुभएको थियो । साथै, उहाँले प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको थियो । नेपाली सेनामा कार्यरत उपत्यका भित्रका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जा सहभागी रहेको सो कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेसन, युनिट तथा सबयुनिटहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?