बुटवलबाट हराएका तीन बालक भारतको मुम्बईमा फेला

हिमालय टाइम्स
Read Time = 3 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । विद्यालय जान हिँडेका बुटवलका तीनजना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन् । शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राती २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरू बेहोसीजस्तै अवस्थामा रहेको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले बताउनुभयो ।

‘बाबुहरू त्यो स्टेशनमा भेटिएको खबर भारतीय प्रहरीले हामीलाई शनिबार राती २ बजे गर्‍योे, उनीहरूको होस खासै छैन रे, बडबडाएजस्तो गरेका छन् रे, अब हामी यताबाट प्रहरीको पत्र बनाएर लिन जाँदैछौं,’ उहाँले भन्नुभयो । बुटवल उपमहानगरपालिका-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समिर लम्साल र १४ वर्षीय प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुईजना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एकजनासँग विद्यालय जान भनी सँगै घरबाट निस्कनुभएको थियो । तर, विद्यालयमा उहाँहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए ।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको प्रहरीको भनाइ उदृत गर्दै पन्थीले बताउनुभयो । हराएका समिर लम्सालका बुबाले दिएको जानकारीअनुसार उनीहरूसँग झोलाहरू पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्योल भएको छ । उनीहरू ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने भएकाले प्रहरीले अनुसन्धान गर्नुपर्ने समिर लम्सालका बुबा सागर पौडेलले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरूलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान थालिएको बताउनुभयो । केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीयहरूले विद्यार्थी अपहरण गरेर लैजान थालेको विषय सामाजिक सञ्जालमा भाइरल बनिरहेका बेला बुटवलमा भएको यो विषयले विद्यार्थी तथा अभिभावकलाई थप त्रसिद बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?