त्रिशुलीको सेयरबापत ३३ करोड ३४ लाख असुलिने

Read Time = 6 mins

काठमाडौं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत् कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम आगामी ४ असोजदेखि संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँमात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्नेछ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँका दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभएको छ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने भएकाले हाल प्रतिकित्ता ८७ रुपैयाँमात्र जम्मा गरे हुने कम्पनीले जनाएको छ । सेयरधनीहरूले रकम भुक्तानी गर्दा आस्वा शुल्क तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत सात अर्ब ४४ करोडमध्ये ३० प्रतिशत इक्विटी अर्थात् दुई अर्ब ४७ करोड र ७० प्रतिशत ऋण अर्थात् पाँच अर्ब ७६ करोडबाट जुटाइएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअनुसार सेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले साबिकका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आहृवान गरिएको प्रबन्ध–सञ्चालक गौतमले बताउनुभएको छ ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत् कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर रहेको छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहनेछ ।

कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान छ । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी दुई अर्ब ४७ करोड र ७० प्रतिशत ऋण अर्थात् पाँच अर्ब ७६ करोडबाट जुटाइएको छ । प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशुली ३ ‘बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?