प्रधानन्यायाधीश जबराले नाम लिएका बार पदाधिकारी र अधिवक्तालाई समितिमा बोलाइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुलाई समितिमा बोलाउने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व प्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो । समितिको बैठकपछि बोल्दै महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले को-कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको बताउनु भयो । उहाँले बिहीवार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्व प्रधानन्यायाधीशहरुलाई बोलाउने समय निर्धारण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले बयानमा नाम लिएका कानून व्यवसायीहरुलाई स्पष्टिकरणका लागि बोलाउने भएको छ । बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दैछौं । ती व्यक्तिहरुलाई बोलाउने समितिले निर्णय गरेको छ । बार पदाधिकारी, अधिवक्ता लगायत केही व्यक्तिहरुलाई बोलाउने भन्ने कुरा भएको छ । भोलि विभिन्न समय दिएर, अधिवक्ताहरुको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ । पूर्व प्रधानन्यायाधीशहरुलाई अर्को समय छ ।’

प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?