सुत्केरी भैँसीलाई भत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

जाजरकोट । भैँसीपालन कृषकलाई व्यावसायिकरूपमा सक्रिय बनाई दूध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको छ । नलगाड नगरपालिकाले पालिकाभित्रका सबै सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । ‘भैँसी सुत्केरी, प्रोत्साहन हातभरि’ भन्ने कार्यक्रमअन्तर्गत भैँसीपालक कृषकलाई भैँसीको व्यावसायिक पालनमा सक्रिय बनाउन यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

गत भदौँदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैँसीलाई रु एक हजार पाँच सयका दरले रकम दिन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भैँसीपालन व्यवसाय विस्तारै कम हुँदै गएकाले नगरपालिकाबाट भैँसीपालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटो खुला गरिएको छ ।”

सुत्केरी भैँसीको लगत सङ्कलन भइरहेको नगरपालिकाले जनाएको छ । पूर्वी क्षेत्रको नलगाड भैँसीपालन व्यवसाय राम्रो भएको पालिकामध्येमा पर्दछ । उक्त भत्ता लिएर भैँसीको हेरचाह, आहार र व्यवस्थापनमा खर्च हुने अपेक्षा नगरपालिकाले लिएको छ । वर्षमा एकपटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको छ ।

योजनाले दूध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैँसीपालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालिमटीमा दूध डेरीसमेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारीमार्फत आधुनिक मेसिन जडान गरी काम सुरु भएको नगरप्रमुख डम्बर रावतले जानकारी दिनुभयो । जाजरकोट-डोल्पा सडकखण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत् आयोजना निर्माणस्थलसमेत रहेको छ । जनसङ्ख्याको चाप रहेको यस क्षेत्रमा आवत र जावत गर्न समेत सहज रहेको छ ।

यस क्षेत्रमा उत्पादन भएको दूध अन्य जिल्लामा समेत सजिलै ढुवानी गर्न सकिने भएको छ । कृषक रामबहादुर रावलले भैँसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजना राम्रो रहेकोे बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?