परिवार नियोजन दिवस : सेवाको समतामूलक पहुँचका लागि थप लगानी आवश्यकता

हिमालय टाइम्स
Read Time = 4 mins

चन्द्रकान्त खनाल/हिटा
बुटवल । नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागू भएको ६३ वर्ष भए पनि सबै समुदायका व्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन् । यो सेवाको समतामूलक पहुँचका लागि थप लगानी एवं प्रयासको आवश्यकता रहेको बताइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नवौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएको हो । सरकारले व्यवस्थित परिवार हाम्रो अधिकार हामी सबै जिम्मेवार भन्ने नाराका अघि सारेर दिवस मनाएको छ ।

व्यवस्थित रूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरूमा वर्षाैंदेखि स्थिर रहेकाले कार्यक्रम नै संकटमा पुगेको छ । कार्यक्रममा प्रस्तुतिकरण गर्दे स्वास्थ्य निर्देशनालयका परिवार नियोजन निरीक्षक कौशल भण्डारीले नेपालमा परिवार योजना (नियोजन)मा चुनौती रहेको बताउनुभयो । उहाँले अस्पतालमा तथा अन्य सेवाप्रदायक संस्थामा तालिम प्राप्त जनशक्तिको कमी, बन्ध्याकरण सेवाप्रदायक अस्पतालहरूमा सबै प्रकारका सेवाको (स्थायी बन्ध्याकरणसहित) नियमित नहुनु, संस्थागत परिवार योजना सेवा केन्द्रहरूको अवस्था प्रदेश तथा जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा परिवार योजना परिवार नियोजन सेवा सुपरभाइजरको व्यवस्था गर्न नसक्नु निजी तथा सामुदायिक अस्पताल, शिक्षण अस्पताल, प्रतिष्ठानहरूमा सेवाविस्तार, गुणस्तर सेवा अभिवृद्धि, तथ्यांक अभिलेखीकरण तथा प्रतिवेदन राख्न नसक्नुको कारण यो चुनौती भएको बताउनुभयो । त्यस्तै, उहाँले प्रजनन स्वास्थ्य अधिकार र जिम्मेवारीबारे चेतनाको कमी रहेकोसमेत बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका परिवार नियोजन निरीक्षक कौशल भण्डारीले तराईका चार जिल्ला रुपन्देही कपिलवस्तु नवलपरासी र बाँकेमा खुसहाल परिवार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यो सीमान्तकृत समुदायमा पहिलोपटक यो कार्यक्रम लागू भएको बताउनुभयो । परिवार योजना सेवालाई थप सुदृढीकरण गर्नको लागि संघ, प्रदेश र स्थानीय तहहरूले परिवार योजना सेवाको लागि आवश्यक बजेटको व्यवस्था गर्ने, प्रदेश र स्थानीय तहमा जिम्मेवार व्यवस्थापकको व्यवस्था गर्ने र निजी क्षेत्रको थप सहभागिता गराउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरूलाई सचेत बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत काम गर्दै आएको समेत जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?