कविता कृति ‘बिगन रामको मादल’ लाकोर्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ लोकार्पण गरिएको छ । सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा कवि/साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि/समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक/समीक्षक राजकुमार बानियाँलगायतले कृतिको लोकार्पण गर्नुभएको हो ।

कवि श्यामलले कवि तारकिणीका कविता सशक्त रहेको बताउँदै भन्नुभयो, ‘झारपात कुरा उठाएर राजेन्द्रले समय खर्च गरेका छैनन् । कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको होइन, आम सामान्य मान्छेको चिन्ता छ । त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ ।’

कार्यक्रमका अर्का वक्ता राजेन्द्र शलभले भन्नुभयो, ‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु । कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०-१२ वटा कविता सम्झिएँ । त्यसैले यो कृति सफल छ ।’
कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तारकिणीका कविता बिम्बैबिम्बले भरिएका छन् । दोहोरिएका बिम्ब छैनन् ।’

यस्तै, युवानेता माधव पन्तले कविबारे संक्षिप्त टिप्पणी राख्दै गाउँदेखि शहरसम्म आइपुग्दाका उतारचढाव, श्रवणशक्ति गुमाउँदाको पीडा र हालको संघर्षबारे बताउनुभएको थियो । यसैगरी नेपाली सांकेतिक भाषामा पहिलो शोध (थेसिस) गर्नुभएकी शिलु शर्माले सांकेतिक भाषाका माध्यमबाट कवि तारकिणीलाई सञ्चारमा सहजीकरण गरिदिनुभएको थियो । कार्यक्रमको सञ्चालन कवि/समीक्षक भरतकुमार साउदले गर्नुभएको हो ।

कवि तारकिणीले ‘बिगन रामको मादल’ कृतिगत हिसाबले चौथो कृति हो । यसमा पछिल्लो एक दशक अवधिमा लेखिएका कविता संकलित छन् । उहाँले भन्नुभयो, ‘हाम्रो पुस्ताले पछिल्ला कालखण्डमा ठूला त्रासदी र उथलपुथल भोगेको छ । दश वर्षे सशस्त्र द्वन्द्व, नयाँ संविधान निर्माणका क्रममा भएका राजनीतिक रस्साकस्सी, विनाशकारी भुइँचालो, भारतीय नाकाबन्दी, कोरोना महामारी आदि ∕ मैले कवितामा आम मान्छेका आवाजलाई उनेको छु, मेरो कविताको आवाज राज्यले सुनोस् भन्ने चाहन्छु ।’

शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ । जसमा ५५ कविता संग्रहित छन् भने पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?