अनशनरत डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै

काठमाडौं लग्न धनगढी पुगेको स्काइट्रक खाली फर्कियो

हिमालय टाइम्स
Read Time = 5 mins

धनगढी । विगत १० दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सातवटा माग राखेर धनगढीमा आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उहाँलाई मंगलबार काठमाडौं लैजाने तयारी गरिएको थियो । तर, डा. केसीले काठमाडौं नजाने अडान राखेपछि धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौं लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।

केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौं लैजाने तयारी गरे पनि केसी काठमाडौं जान नमानेको डा. केसीका सहयोगी डा. अमृत जैसीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । यता, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिइसकेको छ ।

अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै, पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । डा. केसीले भदौ २७ गते धनगढीको मन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गर्नुभएको थियो । उहाँको अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उहाँको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उहाँलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको थियो । अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच भएका वार्तामा निष्कर्षविहीन भएका छन् । सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहनुभएको छ ।

डा. केसीको तर्फबाट वार्ता गर्न डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ । डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी नेपाल चिकित्सक संघका प्रतिनिधिलाई पनि वार्ता टोलीमा राखिएको छ ।
देशभरका सरकारी अस्पतालमा बेड अनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधि उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेका निजी अस्पताल बन्द गराइनुपर्ने उहाँका माग छन् ।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग पनि उहाँले सरकारसँग राख्नुभएको छ । डा. केसीले यसअघि १९ पटक संघीय राजधानी काठमाडौं तथा देशका अन्य भागमा पुगी अनशन बसिसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?