पेट्रोलियम गाडी विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा जोड

Read Time = 7 mins

काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा विज्ञ तथा व्यवसायीले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न नाडा इभी अटो शोमा आयोजित इभी चौतारी छलफलमा विज्ञहरूले विद्युतीय सवारीमा रूपान्तरण गर्नुपर्ने बताएका हुन् । सिप्रदी प्रालिका इभी ट्रेनिङ हेड दिपेश पौडेलले नेपालमा विद्युतीय सवारीसाधन भित्रिँदै धेरै प्राविधिक अन्योलता देखिएको बताउनुभयो ।

प्राविधिक वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेकोमा इलेक्ट्रिकतर्फ मोडिनुपर्दा प्राविधिकरूपमा कठिनाइ भोग्नुपरेको उहाँको भनाइ छ । अन्य मुलुकमा इन्धनबाट चल्ने गाडी विद्युतीयमा रूपान्तरण भएरै आए पनि नेपालमा विद्युतीय भन्नेबित्तिकै माइन्डसेट नै परिवर्तन भएको उहाँले बताउनुभयो । पौडेलले इभीमा तीन सय भोल्टमाथि नै काम गर्नुपर्ने भएकाले सेफ्टीमा पनि उत्तिकै ध्यान दिनुपर्ने र प्राविधिकको क्षमता र दक्षता बढाउनुपर्ने बताउनुभयो । खासगरी नेपालभर रहेका पाँच लाख प्राविधिकको इभीमा क्षमता कसरी बढाउने भन्ने विषयमा नीतिगत तहबाटै पहल हुनुपर्ने पौडेलको भनाइ छ ।

काठमाडौं विश्वविद्यालयकी रिसर्चर शिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको भौगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहित गर्नुपर्ने अहिलेको आवश्यकता हो, हामीलाई कस्ता खालका इभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो, यी विषय पनि अध्ययन हुनुपर्छ ।’ नेपालको विद्युतीय सवारी बजार प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालीनरूपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागि पनि विद्युतीय सवारीमा रूपान्तरण गर्न सरकारी तवरबाटै काम हुनुपर्ने श्रेष्ठले बताउनुभएको छ ।

मेकानिकल इन्जिनियर अभिषेक कार्कीले पनि नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा एउटा गाडीमात्रै विद्युतीयमा रूपान्तरण गर्छौं भन्यो भने लागत धेरै बढी छ, त्यसैले इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रूपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपर्छ ।’ सरकारले २०३० सम्म आधाभन्दा बढी सवारी इभीमा रूपान्तरण भइसक्ने घोषणा गरे पनि सम्भव नरहेको बताउँदै उहाँले नेपालमा इभीको पहुँच गाडी आयात गरेर नहुने, यहींका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । आगामी १० वर्षभित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडी आयात बन्द गर्नुपर्ने उहाँको भनाइ छ । नेपालमा इन्धनबाट चल्ने सवारीलाई जुन ब्याट्री उपयुक्त छ, ती गाडी विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पूरा हुनसक्ने पनि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरेक देशले आफ्ना लागि भनेरमात्रै गाडी बनाउँछ भने नेपालका लागि भनेर मात्रै बनाउँदैन, त्यसैले नेपालको आवश्यकता पनि बुझ्नुपर्छ ।’ नेपालमा वार्षिकरूपमा निश्चित गाडी विद्युतीकरण गर्ने लक्ष्य लिएमात्रै ब्याट्री उद्योग खुल्ने उहाँको भनाइ छ ।

विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभीमा रुचि राख्ने सबैलाई साना–साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्या भइरहेको पाएको छु, अब लङ ड्राइभका लागि सरकार र निजी क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ ।’ पछिल्लो समय नेपाल आएका गाडी फास्ट चार्जिङका भएकाले फास्ट चार्जिङको विकल्प नरहेको उहाँको भनाइ छ । सार्वजनिक यातायातमा विद्युतीकरण नगरी उपलब्धि हासिल हुन नसक्ने पनि उहाँले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानिकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने विषय नै मुख्य चुनौतीको विषय रहेको बताउनुभयो । सरकारले विद्युतीयमा कन्भर्सन गर्न इन्धनबाट चल्ने सवारीलाई सहुलियत र विद्युतीयमा रूपान्तरण हुने सवारीलाई नियमन गर्न संयन्त्र पनि बनाउनुपर्ने धामीको भनाइ छ । उहाँले भन्नुभयो, ‘डिजेल पेट्रोल गाडीलाई बैंकले पनि कर्जा दिन्छु भन्ने अवस्था छ, विद्युतीयतर्फ बजार अघि बढिनसकेको अवस्था छ । त्यसका लागि रिक्स काउन्टर ग्यारेन्टी फण्डको अवधारणा ल्याउनुपर्ने हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?