टेण्डर र डिपिआरबिना ४६ करोडको योजना शिलान्यास

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । नेपाल सरकारका शहरी विकासमन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र टेण्डर प्रक्रिया पूरा नगरी बारामा ४६ करोडको योजना शिलान्यास गर्नुभएको छ । कानुनी प्रक्रिया लत्याउँदै मन्त्री चौधरीले जितपुरसिमरा उपमहानगरपालिकाभित्र एकैपटक तीनवटा योजना शिलान्यास गर्नुभएको हो । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आउनुभएको थियो ।

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया-वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, इनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गर्नुभयो । उक्त सडकखण्ड जितपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।

यसैगरी, मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ विकासशील चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पीपलबोटदेखि विकासशील चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गर्नुभएको छ ।
सघन शहरी विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रमअन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले डिपिआर स्वीकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।

काठमाडौंको मनिषा इञ्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डिपिआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठिक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्वीकृत गर्नुपर्ने र उक्त डिपिआरकै आधारमा टेण्डर आहृवान गरेर ठेकेदार छनोट प्रक्रिया गर्नुपर्ने हुन्छ ।

साढे १७ लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डिपिआरलाई स्वीकृत नै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिनुभएको हो । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?