सत्तागठबन्धनमा असहमति कायमै

छलफल प्रदेशसभा सिट बाँडफाँटतिर, असोज १६ भित्र सबै विषय टुंगो लाग्ने दाबी

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूबीच सिट बाँडफाँटका लागि साढे एक महिनादेखि निरन्तर छलफल चलिरहेको छ । निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गराउनुपर्ने निर्वाचन कार्यतालिका तय गरेको छ । निर्वाचन कार्यतालिका अनुसार राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेश गरिसकेका भए पनि निर्वाचन आयोगले असोज १६ गते हेरफेरको सुविधा दिएको छ । प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता र समानुपातिकतर्फको बन्दसूचीको अन्तिम समयसीमालाई मध्यनजर गर्दै सत्तारुढ दलका शीर्ष नेता र कार्यदलबीच निरन्तर छलफल चलिरहेको छ ।

गठबन्धनका नेताहरूले प्रतिनिधिसभाका १६५ सिटमध्ये करिब १० प्रतिशत सिटमा मात्र कुरा मिल्न बाँकी रहेको दाबी गरेका छन् । सिट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत सिटमा दलहरूका बीचमा धेरै अघि नै सहमति भएको र केही सिटहरूमा दोहोरो तथा तेहोरो दाबी परेकाले मिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।

गठबन्धनका दलहरूबीच १३५ निर्वाचन क्षेत्रमा सहमति : मन्त्री श्रेष्ठ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि सत्तागठबन्धनका दलहरूबीच प्रतिनिधिसभाका १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गर्नुभएको छ । मुख्यगरी संगठनात्मक शक्ति र उम्मेदवारहरूको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजेको जानकारी दिँदै श्रेष्ठले भन्नुभयो, ‘१६५ संघीय निर्वाचन क्षेत्रमध्ये करिब १३५ वटा क्षेत्रमा सहमति जुटिसकेको छ । बाँकी ३० क्षेत्रमा पनि विस्तारै अगाडि बढ्छ । प्रादेशिक निर्वाचन क्षेत्रहरूबारे पनि कुरा भइरहेको छ । दशैँ अगावै सबै कुरा टुंग्याएर अगाडि बढ्ने जमर्को गरेका छौँ ।’ वरिष्ठ नेता श्रेष्ठले निर्वाचनलाई अग्रगामी निर्वाचनका पक्षधर र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीचको ठूलो संघर्षको रूपमा समेत चित्रण गर्नुभयो । प्रतिनिधिसभातर्फ मधेस प्रदेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत कतिपय क्षेत्रमा गठबन्धनका दलहरूबीच विवाद कायमै छ ।

प्रतिनिधिसभाका केही सिट मिल्न बाँकी रहेको भन्दै गठबन्धनका दलहरू अब प्रदेशसभाको सिट बाँडफाँटतिर केन्द्रित भएका छन् । कार्यदलका सदस्य हिमलाल पुरीले प्रतिनिधिसभाका लागि कार्यदलका तर्फबाट टुंगिन सक्ने क्षेत्रमा सहमति भएको र बाँकी क्षेत्रमा शीर्ष तहले नै सहमति खोज्ने भएकाले अब प्रदेशतिर छलफल केन्द्रित भएको जानकारी दिनुभयो । प्रदेशसभामा टुंगो लागेपछि प्रतिनिधिसभाका विवादित रहेका क्षेत्रको बाँडफाँट टुंगो लगाउन सजिलो हुने नेताहरूको बुझाई छ । प्रदेशसभा निर्वाचन क्षेत्र बाँडफाँटका लागि कार्यदलले केही मापदण्ड निर्माण गरेको छ । कार्यदलले वैशाख ३० मा भएको निर्वाचनको मत, अघिल्लो पटक जितेको क्षेत्र र फरक-फरक पार्टीलाई अलग-अलग प्रदेशसभा निर्वाचन क्षेत्र हुनेगरी विभाजन गर्ने मापदण्ड निर्धारण गरेको छ । यही मापदण्डभित्र रहेर सहमतिका खोज्ने प्रयास भइरहेको जानकारी दिँदै कार्यदलका एक सदस्यले भन्नुभयो, ‘प्रतिनिधिसभा सिट बाँडफाँटमा जस्तै प्रदेशसभातर्फ पनि दलहरूले सुरुमा धेरै सिट दाबी गरेका छन् । मसिनो गरी छलफल गरेपछि सिट बाँडफाँट टुंगिन्छ । स्थानीय चुनावमा वडाध्यक्षहरूले ल्याएको मत, २०७४ को चुनावमा प्रदेशसभामा दलका उपस्थिति र ल्याएका मतलगायत विश्लेषण गर्दै निर्णयमा पुग्छौँ ।’

सत्तागठबन्धनले आइतबारदेखि प्रदेशसभा क्षेत्रको सिट बाँडफाँटबारे छलफल थालेका छन् । आइतबार बसेको कार्यदलको बैठकमा गठबन्धनका दलहरूले प्रदेशसभातर्फ आ-आफ्नो दलको दाबी प्रस्तुत गरेका छन् । दलहरूको दाबीअनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले १८५ क्षेत्रमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले १००, नेकपा एकीकृत समाजवादीले ६५, जनता समाजवादी पार्टीले ५० र राष्ट्रिय जनमोर्चाले सात सिटमा दाबी गरेको छ । दलहरूको दाबी प्रदेशसभा निर्वाचन क्षेत्रभन्दा ७७ अर्थात् ४०७ क्षेत्रमा छ । सोमबार पनि कार्यदलले छलफललाई निरन्तरता दियो । आइतबार र सोमबार दिनभरजसो छलफल गरे पनि सहमतिको खाका प्रस्तुत हुनसकेको छैन । दलहरूले गत स्थानीय चुनावमा वडा तहमा पार्टीले ल्याएका भोटलगायत आधार प्रस्तुत गर्दै आफ्ना तर्फबाट सिट दाबी गरेका छन् । असोज १६ गतेअघि नै प्रतिनिधिसभा र प्रदेशसभातर्फ सिट बाँडफाँट गरिसक्ने गरी छलफल अगाडि बढाइएको नेताहरूको भनाइ छ ।

प्रदेशसभा क्षेत्रको सिट बाँडफाँट मिलाउँदा प्रतिनिधिसभा क्षेत्र पनि मिल्न सक्ने भएकाले प्रदेशसभा क्षेत्रको सिट बाँडफाँटलाई अघि बढाइएको जानकारी दिँदै कार्यदलका एक सदस्यले भन्नुभयो, ‘भोट ट्रान्सफर शतप्रतिशत होस् भनेर प्रतिनिधिसभा र प्रदेशसभामा फरक–फरक दललाई टिकट दिने गरी तयारी हुँदैछ । जसरी पनि सत्ता गठबन्धनले जित्नुपर्छ भनेर संघ र प्रदेशमा फरक–फरक पार्टीले लिने गरी छलफल भइरहेको छ ।’

गत साउन २० गते पाँच दलीय सत्तागठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । त्यसपछि दिनहुँजसो छलफल भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा कुन दलले कति सिट लिने अझै टुंगो लाग्न सकेको छैन ।

कांग्रेसको असन्तुष्ट पक्षले गर्‍यो आन्दोलनको घोषणा
नेपाली कांग्रेसमा संस्थापनइतर डा.शेखर कोइराला समूहका दोस्रो तहका नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । सोमबार काठमाडौंमा बसेको इतरसमूहका दोस्रो तहका नेताहरूको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विरोधका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुःख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग उनीहरूको छ । बैठकमा नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरुराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बजगाईंलगायत नेताहरू सहभागी थिए । बैठकले तय गरेको विरोधका कार्यक्रमअन्तर्गत असोज १२ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने, १३ गते बत्तीसपुतलीमा चियापान तथा विरोधसभा गर्ने र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने रहेका छन् ।
बैठकले चियापानका लागि डा.शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेको जानकारी दिँदै नेता भुपेन्द्रजंग शाहीले भन्नुभयो, ‘असोज १४ गतेसम्म पनि समानुपातिक उम्मेदवार सूचीमा संशोधन गरेर शेखर–गगन पक्षका नेताहरूलाई पनि स्थान दिइएन भने प्रत्यक्षमा बागी उम्मेदवारी दिनेलगायत विषयमा छलफल हुन्छ ।’ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा आफूहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले ४० प्रतिशत हिस्सा नदिएको इतर समूहका नेताहरूको आरोप छ ।

कांग्रेसले सानदार विजयी हासिल गर्छ : नेता बस्नेत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मुलुकको विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । सोमबार सिन्धुपाल्चाकको वलेफी-८ जुरे, ड्यामसाइडस्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवं भवन निर्माणको शिलान्यास गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले मुलुकमा प्राकृतिक विपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र विकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको हो ।

सिन्धुपाल्चोकमा भएको पटकपटकको विपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गर्दै नेता बस्नेतले यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नम्बरको पार्टी भएको र यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार विजयी हासिल गर्ने दाबी गर्नुभयो ।

चार वामदलले सार्वजनिक गरे संघर्षका कार्यक्रम
आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका विभिन्न चार वाम राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिष्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । चार दलले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायत रोगब्याधी झेलिरहेका आमनागरिकमाथि निर्वाचन थोपरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । असोज २३ गते सुरु गरेर कात्तिक २३ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम देशव्यापी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?