बसाइँसराइले रित्तिएको ‘टोकरीगाउँ’

हिमालय टाइम्स
Read Time = 9 mins

डम्मर बुढा मगर/बागलुङ । सुनसान गाउँ । जीर्ण घरहरू । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठ लाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका-७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्‍यो भने अस्पतालसम्म पु¥याउने मान्छेसमेत यस गाउँमा छैनन् । भौतिक सेवासुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो ।

यस गाउँका अधिकांश युवा विदेशिएका छन् । विदेश नगएकाहरू परिवार लिएर बजार झरे । यहाँका धेरै युवा जापानमा छन् । केही युरोपतिर । युवाहरू विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन् । स्थानीय रीता थापा भन्नुहुन्छ, ‘गाउँमा कोही बिरामी प¥यो भने तत्काल अस्पताल पु¥याउने मान्छे पाइँदैनन्, गाउँका खेतबारीहरू सबै बाँझो बनेका छन्, बुढाबुढी र केटाकेटीमात्रै छन् अहिले गाउँका केटाकेटी पनि बजारतिरै झर्न थालेका छन् ।’

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिँदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुनेगरेको थापाले बताउनुभयो । दिनदिनै गाउँमा मान्छेहरू घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उहाँको भनाइ छ । ‘बुढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानुपर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने, कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्’, थापाले भन्नुभयो, ‘सबैलाई सुविधा चाहिन्छ, गाउँमा भन्दा शहरमै सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे, यहाँ भएका घर पुरै भत्किन थालिसकेका छन् ।’

थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेतालाको अभाव हुने गरेको बताउनुभयो । उहाँले एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताउनुहुन्छ । ‘पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो, अर्मपर्म गरेर काम गरिन्थ्यो, अहिले एकजना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीहरूमा कालोपाती उम्रिएको छ’, थापाले भन्नुभयो ।

स्थानीय विष्णु थापाले यहाँका अधिकांश युवा जापान र केही युरोपतिर छिरेपछि परिवार बजार झर्न थालेको बताउनुभयो । विदेशमा राम्रो कमाई हुनेहरूले बजारतिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको थापा बताउनुहुन्छ । ‘१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो,’ थापाले भन्नुभयो, ‘अहिले त जापानबाहेक अरू ठाउँमा यहाँका मान्छे छैनन्, उनीहरू सबैले गाउँ छोडेर गए, बजारमा जग्गा जमिन जोडेपछि परिवारनै उतै लगे, गाउँ सुनसना भयो ।’

उहाँले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्न सकेमात्रै बसाइँसराइ रोकिने बताउनुभयो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको सुविधा नहुँदा गाउँ छाड्ने बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘युवा शक्ति सबै विदेशतिर हिँडे, गाउँमा रोजगारको अवसर छैन, विदेश गएपछि गाउँ बिर्सिन थाले, गाउँमा भएकाहरू पनि सुविधा खोज्दै बजार झरे, गाउँमा त उही हुँदा खानेमात्रै छन् ।’

बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताउनुभयो । कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा जम्मा १६ जनामात्रै विद्यार्थी रहेको उहाँको भनाइ छ । प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा तीन र चारमा विद्यार्थी छैनन् । विद्यालय दुईजना शिक्षकको भरमा चलेको उहाँको भनाइ छ ।

‘बसाइँसराइले गर्दा विद्यार्थी घट्दै गएका छन्, स्थानीय सबै जापान तिर छन्, अहिले त बालबालिका पनि उतै लग्न थाले, यहाँ भएका पनि बोर्डिङ तिर झारेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन् कुरै भएन’ प्रअ थापाले भन्नुभयो, ‘कक्षा पाँचसम्म पढाइ हुने भए पनि दुईवटा कक्षामा विद्यार्थी नै छैनन्, १६ जना विद्यार्थीलाई दुईजना शिक्षकले मात्रै पढाउँछौँ, तीनवटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गतवर्ष एउटा दरबन्दी घट्यो ।’

उहाँले धेरै नागरिकहरूले सेवासुविधाको पछिलाग्दा आफ्नो जन्मभूमि छोड्दै गएको बताउनुभयो । बसाइँसराइले सिंगो गाउँनै रित्तो बन्न थालेको उहाँको भनाइ छ । उहाँका अनुसार पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार रहेका थिए । अहिले १५ परिवारमात्रै बस्ने गरेका छन् । ‘मान्छेले सेवासुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि शहर बजारको जति सेवासुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो, अहिले यहाँ भएका विस्तारै बजार झर्ने तयारीमा छन्’, थापाले भन्नुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्न नगरपालिकाले ग्रामीण क्षेत्रमा सहज रूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्नेगरी काम गर्न थालेको बताउनुभयो । उहाँले पहिलेदेखि नै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताउनुभयो ।

‘गलकोटमा बसाइँसराइ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्नेगरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बाढी ‘फोकस’ गरेका छौँ,’ प्रमुख गैरेले भन्नुभयो, ‘ढिला चाँडो बसाइँसराइ रोकिनेछ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ ।’

उहाँले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेको भन्दै अब ग्रामीण पर्यटनलाई जोड दिन थालेको बताउनभयो । ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरि पर्यटक भिœयाउने र स्थानीयको जीवनस्तर उकास्नेसँगै बसाइँसराइ रोक्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?