सत्तागठबन्धन सिट बाँडफाँटको सहमति नजिक, एक दर्जन क्षेत्रमा भने अझै दोहोरो दाबी

जिल्ला-जिल्लामा दलहरूभित्र असन्तुष्टि सुरु

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट लगभग टुंगो लगाएको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरूबीच निरन्तर छलफलपछि निर्वाचन क्षेत्रबारे लगभग सहमति जुटाएको गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।

केही निर्वाचन क्षेत्रमा मात्र दलहरूको दोहोरो दाबेदारी रहेको र ती क्षेत्र पनि एक दुई दिनभित्रै सहमति जुट्ने गठबन्धनका नेताहरूको दाबी छ । स्रोतका अनुसार गठबन्धन दलहरूबीच कांग्रेसले ८५, माओवादीले ४७, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ र राष्ट्रिय जनमोर्चाले एक सिट पाउने सहमति जुटेको छ । जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएको छ । गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पाउने अधिकांश निर्वाचन क्षेत्रको टुंगो लागेको छ । कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरासहित दार्चुला, कैलाली–१, ४, ५, कञ्चनपुर–२ र ३ र अछाम–२ पाउने भएको छ । बाजुरा, सुर्खेतका दुवै क्षेत्र, दैलेख–२ र मुगु पनि कांग्रेसको भागमा परेको छ । दैलेख–१ मा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।

कांग्रेसले प्रदेश–१ मा संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ–१, २, ३ र ६ पाँचथर, इलाम–२, झापा–१, ३ र ४, सुनसरी–२, ३ र ४, ओखलढुंगा, उदयपुर–१ मा उम्मेदवारी दिने सहमति भएको छ । गण्डकी प्रदेशका स्याङ्जाका दुवै क्षेत्र चितवन–१ र २, गोरखा–१, मनाङ, कास्की–१, तनहुँ–१ र २, नवलपरासीपूर्व–१ र २, मनाङ, म्याग्दी, पर्वत पनि कांग्रेसको भागमा परेको छ । गोरखा–१ मा भने माओवादीले दाबी छाडेको छैन् । लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम–२, बर्दिया–१, गुल्मी–१, पाल्पा–१, अर्घाखाँचीमा पनि कांग्रेसले उम्मेदवारी दिने भएको छ । रूपन्देही–३, ४ र ५, कपिलवस्तु–२, ३, दाङ–३ र बाँके–३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसको उम्मेदवार हुने गठबन्धनबीच सहमति भएको छ ।
मधेस प्रदेशका सप्तरी–३ र ४ धनुषा–२, ३ र ४ महोत्तरी–२ र ३, सिरहा–१ र २ निर्वाचन क्षेत्र कांग्रेसले लिने सहमति भएको भने सर्लाही–४, बारा–१, पर्सा–३ र ४ पनि कांग्रेसले पाउने भएको छ । बागमती प्रदेशअन्तर्गत सिन्धुली–१, रसुवा, धादिङ–२, नुवाकोट–२, काठमाडौं–१, ३, ४, ५, ६ र १० भक्तपुर–१ र २, ललितपुर–१, काभ्रे–२, सिन्धुपाल्चोक–२ र मकवानपुर–१ कांग्रेसले लिने सहमति भएको छ । तर, कांग्रेसले पाउने भनिएको धनुषा–४ मा जसपाको दाबी छ । महोत्तरी–३ मा पनि जसपाको दाबी रहेकाले छलफल जारी छ । यस्तै कांग्रेसले दोलखा वा रामेछापमध्ये एक निर्वाचन क्षेत्र लिनेबारे गठबन्धनमा छलफल चलिरहेको नेताहरूको भनाइ छ ।

माओवादीले पाउने निर्वाचन क्षेत्र
नेकपा माओवादी केन्द्रले गठबन्धनमा पाउने भागबाटै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई समेट्ने भएको छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले प्रदेश–१ का ताप्लेजुङ, झापा–२ र ५, भोजपुर, मोरङ–४ र ५, सोलुखुम्बु, उदयपुर–२ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । मधेस प्रदेशका सिरहा–३, धनुषा–१, महोत्तरी–१ र सर्लाही–३ पनि माओवादीबाट उम्मेदवार उठ्ने सहमति भएको छ । बागमती प्रदेशका नुवाकोट–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुली–१, सिन्धुपाल्चोक–१, चितवन–३ माओवादीले लिने सहमति जुटेको छ । गण्डकी प्रदेशका गोरखा–२, लमजुङ, कास्की–१ वा ३ मा पनि माओवादीले भाग पाउनेछ । यसअघि बाबुराम भट्टराईले जितेको गोरखा–२ बाट उहाँ चुनाव लड्ने÷नलड्ने एकिन भइसकेको छैन ।

बागलुङ–२, कपिलवस्तु–१, रुकुमपूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम–१, कैलाली–२ र ३ बैतडी, कञ्चनपुर–१ निर्वाचन क्षेत्रमा पनि माओवादीले टिकट पाउने लगभग सहमति जुटेको नेताहरूको भनाइ छ । कपिलवस्तु–१ मा कांग्रेस नेता दीपकुमार उपाध्यायलाई दिनेबारे पनि कार्यदलमा छलफल चलिरहेको छ । बारा ४, अछाम १, सल्यान, नवलपरासी–१, रूपन्देही–१, धादिङ–१, सर्लाही–२ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले थप छलफल हुने नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादीलाई कुन-कुन क्षेत्र
नेकपा एकीकृत समाजवादीलाई १६ दिने गरी सहमति जुटेको नेताहरूको दाबी छ । तर केही निर्वाचन क्षेत्रमा अझै छलफल हुनुपर्ने देखिएको छ । समाजवादीले इलाम–१, रौतहट–१, बारा–४, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रूपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीको निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । तर, बारा–४, अछाम–१ मा विवाद कायमै छ । धादिङ–१ मा पनि एकीकृत समाजवादीले अडान छाडेको छैन् ।

यी हुन् जसपाले पाउने निर्वाचन क्षेत्र
जसपाले सप्तरी–१, सुनसरी–१, सिरहा–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउने सहमति भएको छ । महोत्तरी–४, सर्लाही–१, रौतहट–३, बारा–२ र ३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२ र सप्तरी–२ पाउने सहमति भएको गठबन्धनका नेताहरूको भनाइ छ । तर, निर्वाचन क्षेत्रहरू धनुषा–३, महोत्तरी–३ र रूपन्देही–१ मा थप छलफल गरिने कार्यदलका सदस्यको भनाइ छ ।

जनमोर्चालाई एक पक्का, अर्कोमा दाबी
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले बागलुङ–१ र प्युठानमा दाबी छाडेको छैन । एउटा क्षेत्र जनमोर्चाले पाउने पक्का भए पनि अर्को क्षेत्रमा सहमति जुट्न सकेको छैन । जनमोर्चाले बागलुङबाट चित्रबहादुर र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाउने भनेर निर्णय गरिसकेको छ । मिल्न बाँकी रहेका सिटहरूमा सहमति जुटाएर छिट्टै औपचारिक घोषणा गरिने नेताहरूको भनाइ छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा करिब सहमति भएसँगै चुनावी माहोल थप तातिएको छ । तर, सिट बाँडफाँटप्रति कतिपय जिल्लामा असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।

दाहोरो दाबी रहेका निर्वाचन क्षेत्र
गठबन्धनबीच सिट बाँडफाँटमा लगभग टुंगो लागिसकेको दाबी गरिए पनि केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले अन्तिम सहमति हुन नसकेको कार्यदलका एक सदस्यको भनाइ छ । अहिले पनि करिब एक दर्जन निर्वाचन क्षेत्रमा सहमति जुट्न बाँकी रहेको नेताहरूको भनाइ छ । कांग्रेसले पाउनुपर्ने केही निर्वाचन क्षेत्रमा माओवादी, एकीकृत समाजवादी र जसपाको दाबी कायमै रहेकाले सहमति हुन बाँकी छ । मोरङ क्षेत्र नम्बर ३ कांग्रेसले पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेको छ । दोलखा र रामेछाप दुवै कांग्रेसले दाबी गरेपछि माओवादी दुईमध्ये एक सिट पाउनुपर्ने दाबी छोडेको छैन् ।

धनुषा क्षेत्र नम्बर–४ कांग्रेसले पाउनुपर्नेमा जसपा र दैलेख एकमा कांग्रेसले पाउनुपर्ने क्षेत्रमा एकीकृत समाजवादीले दाबी गरेको छ । माओवादीले पाउनुपर्ने बाँकी १३ क्षेत्रमा पनि कांग्रेससहित एकीकृत समाजवादी र जसपाको दाबी कायमै छ । जसमा खोटाङ र उदयपुर–२, धादिङ–१, सल्यान, अछाम–१, बारा–४ र सिन्धुपाल्चोक–१ मा दोहोरो दाबी कायमै छ । सर्लाही क्षेत्र नम्बर–२ र रूपन्देही–१ माओवादी पाउनुपर्ने क्षेत्रमा जसपाले दाबी गरेकाले सहमति हुन बाँकी छ । नवलपरासी पश्चिम १ मा माओवादीले पाउनुपर्नेमा कांग्रेसले समेत दाबी गरेको छ ।

नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने बाँकी तीन सिटमा माओवादीले दाबी गरेकाले सहमति हुनसकेको छैन । जसमा बारा–४ धादिङ–१ र अछाम–१ एकीकृत समाजवादीले पाउनुपर्ने क्षेत्रमा माओवादीले समेत दाबी गरेकाले सहमति हुन नसकेको हो । यस्तै, जसपाले पाउनुपर्ने बाँकी क्षेत्र धनुषा–३, महोत्तरी–३ जसपाले पाउनुपर्ने क्षेत्रमा कांग्रेसले दाबी गरेकाले सहमति भएको हुन सकिरहेको छैन् । रूपन्देही–१ जसपाले पाउनुपर्ने क्षेत्रमा माओवादीले दाबी गरेको छ ।

डा.शेखर समूहको चियापान : नेतृत्वप्रति नेताहरूको आक्रोश
नेपाली कांग्रेसको संस्थापन इतर (नेता शेखर कोइराला र महामन्त्री गगन थापा) समूहले दशैँै, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस खबरदारी अभियानको व्यानरमा गरिएको चियापान कार्यक्रममा शुभकामना आदानप्रदान भन्दा पनि टिकटको विषयले बढी महत्व पायो । चियापानमा पनि संस्थापन पक्षले आफूहरूलाई पेलेरै समानुपातिक बन्दसूची तयार गरेको र प्रत्यक्षतर्फ पनि टिकट खोस्न खोजेको गुनासो थियो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित चियापान कार्यक्रममा डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरू उपस्थित हुनुभएको थियो । पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू पनि सहभागी भएको चियापान कार्यक्रममा कोइराला र थापा औपचारिक सम्बोधनबिनै बाहिरिनुभएको थियो । उहाँहरू टिकट माग्ने नेता÷कार्यकर्ताले घेरिनुभएको थियो । कार्यकर्ताहरूको गुनासोे सुन्दै इतर समूहका शीर्ष नेताहरूले नेतृत्वसँग आफ्नो समूहको मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोज्नु भएको थियो ।

कांग्रेसभित्र राजा जन्मिए
चियापानमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेका बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिनुभयो । गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर पार्टीभित्र सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुने उहाँको भनाइ छ । नेता खेमराज केसीले पार्टीमा नातागोता र आफन्तवादलाई हेर्दा न्यायोचित रूपमा टिकट वितरण हुन नसकेको टिप्पणी गर्दै न्यायोचित टिकट वितरण नभएको खण्डमा आफ्नै पार्टीविरुद्धमा उम्मेदवारी दिनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिनुभयो । डा.शेखर समूहका नेता धर्म परियारले पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाउनुभयो ।

संस्थापनपक्ष बन्दसूची सच्याउन तयार
नेपाली कांग्रेसको संस्थापनइतर समूहले चुनावको मुखमा दबाब बढाउँदै लगेपछि पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । कोइराला पक्षका नेताहरूसँगको छलफलमा सभापति देउवाले समानुपातिकको सूची सच्याउने आश्वासन दिनुभएको दाबी गरिएको छ । सभापति देउवाले दिएको आश्वासनबारे कोइराला समूहका एक नेताले भन्नुभयो, ‘सभापतिले सूची सच्याउने र प्रत्यक्षमा सिट बाँडफाँट न्यायोचित हुने बताउनुभएको छ । फाइनल नभएसम्म विश्वास गरिहाल्ने अवस्था छैन ।’

संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला समूहले एक चरणको आन्दोलनका कार्यक्रम समापन गरिसकेको छ । कोइराला पक्षको आन्दोलनको अगुवाइ गरिरहनुभएका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले सभापति देउवाले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएको दाबी गर्दै भन्नुभयो, ‘सभापतिज्यूले सबैलाई मिलाएर लैजान्छु भन्ने आश्वासन दिनुभएको छ । हामी बाटो हेरिरहेका छौँ । भएन भने बाँकी निर्णय हुन्छ । एकलौटी र विभेदपूर्ण भयो भने कार्यकर्ताले आफ्नो बाटो लिन्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?