बडादशैँ अन्तर्गत आज षष्ठी, कात्यायनी भगवतीको पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँअन्तर्गत आज शनिबार) नवदुर्गाको छैटौं रूपअन्तर्गत कात्यायनी भगवतीको पूजा–आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठी तिथिमा शक्तिस्वरूपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।

उपत्यकामा मैतिदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । यस्तै देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधना, पूजा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका, भोजपुरको सिद्धकाली, अर्घाखाँचीको अर्घा र खाँची, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा-आराधना हुने गर्दछ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा–आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?