नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

महिला क्रिकेटमा नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेबाट १ कात्तिकसम्म हुनेछ । प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुने छ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइसकेको छ । नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ । समापन कार्यक्रम भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ । नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?