युक्रेनको राजधानीसहित विभिन्न स्थानमा रुसको क्षेप्यास्त्र आक्रमण

Read Time = 5 mins

किभ । रुसद्वाले युक्रेनको राजधानी किभमा ८५ वटा मिसाइल आक्रमण गरेको छ । रुसले सोमबार बिहानैदेखि युक्रेनको राजधानीमा कैयौँ हवाई आक्रमण गरेको हो । किभबाहेक युक्रेनका अन्य धेरै शहर आक्रमणको चपेटामा छन् । युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि मिसाइल प्रहार गरेको बताएका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै आक्रमणमध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताउनुभएको छ । आक्रमणमा कम्तीमा आठजनाको मृत्यु भएको र २४ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । किभका मेयरले रुसले किभका महत्वपूर्ण भवनलाई निशाना बनाएको बताउनुभएको छ । रुसले किभबाहेक द्रिप्रो, ज्पोरीज्जिया, खारकिएव, तेरनोपिल, लविव सुमीलगायत धेरै क्षेत्रमा आक्रमण भइरहेका जनाइएको छ ।

रुसले युक्रेनको राजधानी किभका ऐतिहासिक र महत्वपूर्ण भवनलाई लगातार निशाना बनाइरहेको दाबी युक्रेनी अधिकारीले गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले देशमा ऊर्जाको आधारभूत संरचनालाई निशाना बनाएको बताउनुभएको छ । एक टेलिग्राम पोष्टमा उहाँले भन्नुभएको छ, ‘उनीहरू आतंक र अराजकता फैलाउन अनि हाम्रो उर्जा प्रणाली ध्वस्त गर्न चाहन्छन् ।’ रुसले आमसर्वसाधारणलाई बढीभन्दा बढी क्षति पु¥याउने गरी त्यस्तै स्थानलाई निसाना बनाइरहेको जेलेन्स्कीको आरोप छ ।

यसैबीच, रुसी मिसाइल हमलामा किभमा बनेको एक पैदल यात्रीका लागि बनेको पुल पूर्णरूपमा क्षतिग्रस्त भएको छ । मानिसहरू क्लिट्स्को पुलको प्रयोग साइकल चलाउनका लागि गर्छन् । यसलाई सन् २०१९ मा बनाइएको थियो । निपर नदीको किनारामा बनेको यो पुल पर्यटकबीच निकै आकर्षणको केन्द्र हो । यसमा सिसाको प्यानल राखिएको छ र मुनि एउटा व्यस्त सडक मार्ग छ । क्लिट्स्को पुलको लम्बाइ २१२ मिटर र उचाइ ३२ मिटर छ । यो पुल साधारणतया कलाकार र संगीतकर्मीका कारण व्यस्त रहन्छ ।

पुलमा राखिएको एक सिसीटिभी क्यामराको फुटेजले हमला कुनबेला भएको भन्ने थाहा हुन्छ । उक्त हमलामा कोही घाइते भएका छन् कि छैनन् भन्ने स्पष्ट जानकारी प्राप्त छैन । यस्तै, युक्रेनको राजधानी किभमास्थित जर्मनीको वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल ठोक्किएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मनीको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

रुसले निर्माण गरेको क्रिमिया जोड्ने पुलमा विष्फोट भएको दुई दिनपछि युक्रेनमा यी विष्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विष्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री पठाउने मुख्य मार्ग रहेको थियो ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बिहान युक्रेनका धेरै ठाउँमा आक्रमण भएको पुष्टि गर्नुभएको छ । एक भिडियो सम्बोधनमा भ्लादिमिर पुटिनले रुसको लामो दुरीका क्षेप्यास्त्रले युक्रेनको ऊर्जा, सैन्य र सञ्चार सुविधालाई निशाना बनाएको बताउनुभएको छ । पुटिनले रूसी क्षेत्रमा कुनै पनि ‘आतंकवादी’ गतिविधिलाई ‘कडा’ जवाफ दिइने कुरा दोहोर्‍याउनु भएको छ ।

रुसले गत २४ फ्रेब्रुवरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता लगातार रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरिरहेको छ । युक्रेनका केही क्षेत्र टुक्राएर जनमत संग्रह गर्दै रुसमा गाभिएको पनि रुसको दाबी छ । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?