सर्लाही २ : फेरि आमने-सामने राजेन्द्र र महिन्द्र !

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश मैनाली
सर्लाही । मधेश प्रदेशका दुई चर्चित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि यो पटकको निर्वाचनमा आमनेसामने हुनुभएको छ ।

एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुईजना पुनः दोस्रो पटक चुनावी मैदानमा आमने सामने हुुनुुभएको हो। सर्लाहीको क्षेत्र नं २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले तथा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले उम्मेद्वारी दिनुभएको छ । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमती अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

मधेशका यी दुई शीर्ष एवं चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । किनकी उहाँहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा लड्ने (निर्वाचन) समेत गर्नुभएको छ। यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा त करिब करिब सोही क्षेत्रहरु पर्ने तत्कालीन २ नम्बर क्षेत्रमै एक आपसमा चुनावी मैदानमा उत्रदा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेद्वारीले पक्का गर्नुभएको छ ।

२०७० सालमा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गर्नुभएको थियो । यादव २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । महतो २०७४ सालमा भने धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल हुनुुभएको थियो। यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किनुभएको हो । गत निर्वाचनमा जुलीले सहयोग गरेकै कारण निधीलाई हराउनुभएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पूरानै मैदानमा फर्किएको एक नेताले दाबी गरे ।

त्यहाँ विपक्षी गठबन्धनबाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिनुभएको छ । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधान सभा सदस्यका लागि उम्मेद्वारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?