विशेष अदालतले इच्छाराज तामाङलाई पुर्पपक्षका लागि थुनामा पठायो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल समूहका सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त रेग्मी, न्यायाधीशहरू शालिग्राम कोइराला र खुशीप्रसाद थारूको इजलासले तामाङलाई थुनामा राख्ने आदेश गरेको हो । यसअघि सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि ठगी मुद्दामा थुनामा रहेका उनलाई विशेषले पनि थुनामै राख्ने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतले यसअघि उनलाई मुद्दाको किनारा नलागेसम्मका लागि थुनामा पठाएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै, एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेका विभिन्न कित्ता सेयर पनि जफत गर्न माग गरेको हो । तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको थियो । उनको एउटा सवारीसाधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ ।

प्रतिवादीहरू प्रतीक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग एक करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ । विभागले प्रतिवादी मीनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका सात कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ । सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै सिआइबीले असोज १८ गते तामाङलाई पक्राउ गरेको थियो ।

तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए । यसअघि अधिवक्ता रुद्र शर्मा पोखरेल र तामाङबीच भ्रष्टाचारसम्बन्धी एक मुद्दामा अडियो ‘लिक’ भएसँगै अधिवक्ता पोखरेलविरुद्ध न्यायपरिषद्ले छानबिन गरिरहेको छ । उक्त मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग कुरा गरेर मिलाइदिने भनी तामाङ र अधिवक्ता पोखरेलबीच भएको फोन अडियो सार्वजनिक भएपछि यो सर्वत्र आलोचनाको विषय बनेको थियो भने प्रधानन्यायाधीश राणाउपर महाभियोग लाग्नु मुख्य कारणसमेत बनेको नेपाल बार एसोसिएसनले तर्क गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?