राष्ट्रपति र प्रधानमन्त्रीका आकांक्षी चुनावी मैदानमा

आन्तरिक असन्तुष्टि, आफ्नै पूर्व-सहयात्री र स्वतन्त्र उम्मेदवार चुनौती

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल, तीनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन् । उम्मेदवारहरू पार्टी र आफ्ना एजेण्डा बोकेर मतदाताका घरदैलो पुगिरहेका छन् । चुनावको मिति नजिकिँदै जाँदा आमनागरिकमा पनि उम्मेदवार छनोटको विषय प्राथमिकतामा पर्न गएको छ । राजनीतिक दलहरूले टिकट वितरणमा मनोमानी गरेको गुनासो सर्वत्र छ । भागबण्डा र दास मनोवृत्तिले गाँजेको अवसरवादी व्यवहारका कारण दलहरूले लोकतन्त्रको सुन्दरता चुनावलाई खल्लो बनाएको टिप्पणी भइरहेको छ । मतदाताको चाहनालाई तिरस्कार गरेर राजनीतिक दलहरूले आफू र आफ्ना निकटलाई टिकट दिएको टिप्पणी स्वयम् राजनीतिक दलहरूमै देखिन्छ । विरोध, गुनासो र टीकाटिप्पणी जे भए पनि मुलुक निर्वाचनमय भइसकेको छ ।

आसन्न निर्वाचनमा मुलुकको सर्वोच्च पद राष्ट्रपति र कार्यकारी पद प्रधानमन्त्रीका आकांक्षी नेताहरू पनि विभिन्न राजनीतिक दलको तर्फबाट चुनावी लडाइँमा उत्रिएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सातौँपटक उम्मेदवार बन्नुभएको छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भइसक्नुभएका देउवाले निर्वाचनपछि पनि पुनः प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएको छ । डडेल्धुरामा बहुदलदेखि गणतन्त्रसम्म देउवा एक्लैको रजगज छ । बहुदलीय व्यवस्थामा गृहमन्त्री र प्रधानमन्त्री बन्नुभएका देउवा गणतन्त्रमा पनि पटक–पटक प्रधानमन्त्री बनिसक्नु भएको छ । अघिल्लो निर्वाचनमा देउवाका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता खगराज भट्ट हुनुहुन्थ्यो । तर, यसपटक माओवादी कांग्रेससँगै गठबन्धनमा रहेकाले देउवालाई चुनाव जित्न थप सहज भएको विश्लेषण भइरहेको छ । देउवालाई यसपटक कुनै समयका उहाँकै स्वकीय सचिव रहनुभएका कांग्रेस बिपीका उपाध्यक्ष कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिइरहनु भएको छ ।

दुईपटक मुलुकको प्रधानमन्त्री भइसक्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनबाट झण्डै दुईतिहाइ बहुमत सहितको प्रधानमन्त्री बन्नुभएका ओलीले एउटै कार्यकालमा दुईपटक प्रतिनिधिसभा विघटन गर्नुभयो । पार्टीको आन्तरिक विवादको कारण गैरसंवैधानिक तरिकाले संसद् विघटन गरेपछि अध्यक्ष ओली संसद्मा दुईतिहाइ बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री कुर्सीबाट बाहिरिनुप¥यो । आसन्न निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्नुभएका ओलीलाई पुरानै प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र पाण्डप अधिकारी र स्वतन्त्र उम्मेदवार युग पाठकले चुनौती प्रस्तुत गर्नुभएको छ ।

आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएका अर्का उम्मेदवार हुनुहुन्छ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । दाहाल पनि दुईपटक प्रधानमन्त्री भइसक्नु भएको छ । तेस्रोपटक प्रधानमन्त्री हुने चाहना दाहालले पटक–पटक सार्वजनिक गरिसक्नु भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछिका हरेक चुनावमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आउनुभएका दाहाल यसपटक गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका दाहाललाई युवा स्वतन्त्र उम्मेदवार अब्दुस मियाँले टक्कर दिनुभएको छ । तर, गठबन्धनको साथसहित अध्यक्ष दाहाललाई बलियो पार्टी संगठनको साथ छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको थियो । सत्ता गठबन्धनमा यसबारे पटक–पटक छलफलसमेत भएको नेताहरूको भनाइ छ । तर, १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवारमा पराजित भएको रेकर्ड बनाउनुभएका पौडेलले पछिल्ला दिनहरूमा प्रधानमन्त्रीको आकांक्षा राख्नुभएको छ । प्रधानमन्त्री बन्ने हुटहुटीका कारण पौडेलले आसन्न निर्वाचनमा तनहुँ–१ बाट उम्मेदवारी दिनुभएको छ । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आउनुभएका पौडेललाई गत निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले पराजित गर्नुभएको थियो । यसपटक श्रेष्ठसहित गठबन्धनको साथ रहे पनि पौडेललाई परम्परागत प्रतिस्पर्धी कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीको चुनौती रहेको छ । जोशीले पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जोशीको उम्मेदवारीले प्रधानमन्त्री बन्ने पौडेलको आकांक्षामा ठेस लगाउन सक्छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं मुलुकको राजनीतिमा आशा गरिएका युवा नेता गगन थापाले पनि प्रधानमन्त्रीको आकांक्षा राख्नुभएको छ । चुनावपछि पार्टीसभापति देउवालाई संसदीय दलको नेतामा टक्कर दिने योजना महामन्त्री गगन थापाको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिनुभएका थापाले उम्मेदवारी मनोनयन दर्ताकै दिन आफूलाई प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गर्नुभएको थियो । थापाले आसन्न निर्वाचनमा पनि पुरानै प्रतिस्पर्धीको टक्कर सामना गर्नुपर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई पराजित गर्न सफल महामन्त्री थापालाई यसपटक पनि उनै भट्टराईले चुनौती दिनुभएको छ ।

नेपाली कांग्रेसभित्र संस्थापनइतर पक्षको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि आसन्न चुनावपछि प्रधानमन्त्री बन्ने आकांक्षा राख्नुभएको छ । गत मंसिरमा काठमाडौंमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा पराजित भएलगत्तै डा.कोइरालाले प्रधानमन्त्रीको आकांक्षा सार्वजनिक गर्नुभएको थियो । कोइरालाका त्यसपछिका गतिविधि पनि सोही अनुसारका छन् । २०७४ सालको निर्वाचनमा मोरङ ६ मा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभएका कोइरालाले यसपटक पनि उनै पण्डितलाई प्रतिस्पर्धी पाउनुभएको छ ।

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आगामी चुनावपछिको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा हेरिएको छ । यद्यपि, नेपालले सार्वजनिक रूपमा आगामी प्रधानमन्त्रीको आकांक्षा प्रस्तुत गर्नुभएको छैन । काठमाडौं-२ लाई छोडेर गृहजिल्ला रौतहट-१ बाट उम्मेदवारी दिनुभएका नेपाललाई आफ्नै पूर्वपार्टी नेकपा एमालेका उम्मेदवारको चुनौती भारी पर्नसक्छ । पार्टी अध्यक्ष ओलीको पेलान सहन नसकेपछि २०७८ साल भदौमा एमालेबाट छुट्टिएर नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो । यसपटक अध्यक्ष नेपाललाई सत्तागठबन्धनको साथ छ ।

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले लामो समयदेखि राष्ट्रपति बन्ने आकांक्षा पाल्दै आउनुभएको छ । २०७४ सालको चुनावपछि खनाललाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिए पनि पार्टी अध्यक्ष ओलीले विद्या भण्डारीलाई अघि सारेपछि खनाल जिल्ल पर्नुभएको थियो । इलाम १ बाट उम्मेदवार बन्नुभएका खनालले उहाँकै पूर्वपार्टी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतको चुनौती सामना गर्नुपरेको छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका उम्मेदवार खनाललाई सत्ता गठबन्धनको साथ छ ।

नेपाली कांग्रेसका पूर्व-महामन्त्री प्रकाशमान सिंहले पनि प्रधानमन्त्री आकांक्षा राख्दै आउनुभएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री भइसक्नुभएका सिंहले प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षा पटक-पटक सार्वजनिक गरिसक्नु भएको छ । पार्टीको १४औँ महाधिवेशनमा पार्टी नेतृत्वको लागि प्रतिस्पर्धा गरेपछि अपेक्षाकृत मत नआएपछि सिंहको राजनीति ओरालो लाग्दै गएको कतिपयको टिप्पणी छ । तर, काठमाडांै उपत्यकामा पार्टी संगठनमा निकै पहुँच भएका सिंहको प्रधानमन्त्रीको दाबेदारीलाई गम्भीर रूपमा लिइएको छैन । काठमाडौं १ बाट उम्मेदवारी दिनुभएका सिंहलाई राप्रपाका रवीन्द्र मिश्र, नेपाल स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल लगायतले चुनौती दिन सक्छन् । अघिल्लो निर्वाचनमा सिंहले तत्कालीन विकेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई पराजित गर्नुभएको थियो । नेपाली कांग्रेसका पूर्व-महामन्त्री डा. शशांक कोइरालाले पनि आसन्न चुनावपछि प्रधानमन्त्रीको आकांक्षा राख्नुभएको छ । अहिलेसम्म कुनै पनि राजकीय मामिला सञ्चालनको अनुभव नहुनुभएका कोइरालाले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेक्रममा प्रधानमन्त्रीको आकांक्षा सार्वजनिक गर्नुभएको थियो ।

पार्टीले भावि प्रधानमन्त्रीका रुपमा एमालेबाट केपी शर्मा ओलीलाई घोषणा गरेर चुनावी मैदानमा होमिएको हो भने अन्य आफैँले प्रधानमन्त्रीका रुपमा घोषणा गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?