झापा- २ : सहकर्मीहरू बीच कडा प्रतिष्पर्धा

झापा २ मा चुनावी प्रतिष्पर्धामा रहनु भएका मध्ये एक जना ओलीका प्रियपात्र हुनुहुन्छ भने अर्का ओलीका निरङ्कुश निर्णय विरुद्ध खडा भएका व्यक्ति।

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 9 mins

-सुरेन्द्र भण्डारी

झापा । झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि भिडिरहनु भएका देवराज घिमिरे र हरिकुमार राना, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) मा रहेर राजनीति गर्दा झापामा मात्र होइन झापाबाहिर पनि छुट्टै छवि बनाएका व्यक्ति हुनुहुन्छ ।

घिमिरे नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ भने राना प्रदेश कमिटी सदस्य हुनुहुन्छ। तर, प्रतिनिधि सभाको निर्वाचन २०७९ को मनोनयन दर्ताको अघिल्लो दिनबाट उनै घिमिरे र राना सहकर्मी नभई मुख्य प्रतिष्पर्धीका रुपमा देखा पर्नु भएको छ। नेकपा (एमाले)ले आफूलाई स्थान नदिएको भन्दै राना नेकपा (एमाले) छाडेर बाहिरिनु भयो।

पार्टीमा रहँदा शालिन, भद्र र प्रभावशाली नेताका रूपमा आफ्नो परिचय बनाएका दुवै जना यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मैदानमा उत्रिनु भएको छ। झापा क्षेत्र नम्बर २ मा घिमिरे नेकपा (एमाले) का तर्फबाट उम्मेद्वार हुनुहुन्छ भने राना सत्तारुढ गठबन्धन दलको तर्फबाट साझा उम्मेद्वार। राना यस अघि स्थानीय तहको जनप्रतिनिधि भएर नागरिकको सेवामा समर्पित भएका व्यक्ति हुनुहुन्छ भने घिमिरे पहिलो पटक जनप्रतिनिधि चुनिन मैदान हुनुहुन्छ। राना नेकपा (एमाले)का तर्फबाट २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुखको रुपमा निर्वाचित हुनुभएको थियो।

प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको दावी गर्दै आएका राना पार्टी अध्यक्ष केपीओलीको वक्रदृष्टिमा त्यतिबेला पर्नुभयो जब रानाले प्रतिनिधि सभा विघटनको ओलीको निर्णयका विरोधीहरूको खेमामा उभिनुभयो। ओलीका कदम विरुद्ध आवाज उठाउने देशभरका नेता तथा कार्यकर्ताहरू मध्ये तत्कालीन अर्जुनधारा नगरप्रमुख रानामाथि १० बुँदेको आरोप लागेको थियो। उहाँसँगै एमाले नेता रविन कोइराला, पवित्रा निरौला खरेल, चन्द्रा श्रेष्ठ लगायतको नाम समेत जोडिएको थियो। ओलीको दश बुँदेमा पर्ने मध्ये झापा क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्यका लागि रविन कोइरालाको मात्रै सिफारिस गरिए पनि अहिले उहाँको नाम हटाएर ओलीले अग्नि खरेललाई टिकट दिइएको छ। अध्यक्ष ओली निकट मानिने खरेललाई यस अघि ओलीले नै महान्यायाधिवक्तामा नियुक्ति गर्नुभएको थियो।

२०७० सालमा भएको संविधान सभा सदस्यको निर्वाचनमा रविन कोइराला कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराउँदै नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको थियो। एमालेका नेता मध्येमा झापामा प्रभावशाली नेताका रुपमा स्थापित कोइराला झापा क्षेत्र नम्बर १ मा बलियो पकड राख्ने नेता मध्येमा पर्नुहुन्छ। तर, अहिले प्रतिनिधि सभाको निर्वाचनमा उहाँको ठाउँमा खरेल र उहाँलाई प्रदेश सभा सदस्यका रुपमा मात्रै स्थान दिइएको छ।

झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको टिकट पाउने घिमिरे ओली निकट नेता हुनुहुन्छ। पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष ओलीले घिमिरेलाई टिकट दिनुभएको हो। संगठनमा घिमिरेको प्रभाव राम्रो मानिए पनि जनस्तरमा भने उहाँको चाम खासै नरहेको बताइन्छ।

अर्जुनधारा नगरपालिकास्थित सालवारीमा सुखानी सहिद स्मृति प्रतिष्ठान बनाउन महत्वपूर्ण योगदान राख्ने नेता घिमिरे सो प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ। प्रतिष्ठान निर्माणका क्रममा राना र घिमिरेको योगदान उत्तिकै रहेको बताइएको छ। स्थानीय स्तरमा रहेर रानाले प्रतिष्ठानको श्रीवृद्धिका लागि काम गरेको र घिमिरेले बजेट भित्र्याउन महत्वपूर्ण योगदान गरेको बताइन्छ। जसका कारण पनि घिमिरे र राना नेकपा (एमाले) मा रहँदा एक अर्काका परिपुरक हुनुहुन्थ्यो। तर, नेकपा (एमाले) मा प्रतिनिधि सभाकालागि रानाले टिकट नपाएपछि दल बदलेर एकीकृत नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह्रबाट चुनाब लड्दै हुनुहुन्छ।

जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्र मध्ये यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि घिमिरे र राना दुवै नयाँ अनुहार हुनुहुन्छ। अन्य निर्वाचन क्षेत्रकालागि दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिएका नेतामध्ये कोही दोहोरिएका छन् भने कसैले सातौं पटकसम्म अवसर पाएका छन्।

स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा : अग्रपंक्तिमा नेकपा एमाले

झापा क्षेत्र नम्बर २ मा २५ वटा वडा रहेका छन्। जसमा बुद्धशान्ति गाउँपालिकाको वडा नं. १, २ र ३ नम्बर वडा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नम्बर १देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको वडा नं. ८ र ९ पर्छन्। स्थानीय तहको दोस्रो निर्वाचनलाई आधारमान्दा झापा २ मा नेकपा (एमाले) नै अगाडि छ।

२५ वटा वडामा १३ वटा वडा नेकपा एमाले एक्लैले जितेको छ भने ११ वटा वडा नेपाली कांग्रेस र राप्रपाले एउटा वडा जितेको छ। झापा २मा नेकपा माओवादी केन्द्र र नेकपा एसले यहाँ एउटा पनि वडामा जित हासिल गर्न सकेनन्।

स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले० ले झापा क्षेत्र नम्बर २ बाट ३६ हजार ४ सय ८६ मत ल्याएको छ भने गठबन्धन दल नेपाली कांग्रेसले ३२ हजार ६ सय ७२ मत प्राप्त गरेको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ५ सय ११ र चारवटा वडामा उम्मेदवारी दिएको माओवादी केन्द्रले २ हजार ४ सय ३७ मत ल्याएको छ। सबै जोड्दा सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा झापा २ मा ३५ हजार १०९ मत, नेकपा एमालेको पक्षमा ३६ हजार ४ सय ८६ र राप्रपाको पक्षमा ९ हजार ५ सय ११ मत प्राप्त छ।

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?