राइड सेयरिङ एप ‘जाउँ गुरु’

Read Time = 3 mins

काठमाडौं । पानी ट्यांकरदेखि मिनी ट्रकसम्मको सुविधासहित राइड सेयरिङ एप ‘जाउँ गुरु’ सञ्चालनमा आएको छ । तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बू र दिवाकर अर्यालले सामूहिक लगानीमा जाउँ गुरु एप सञ्चालनमा ल्याउनुभएको हो ।

प्रवासमा रहनुभएका लिङ्देन र लिम्बू लण्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आबद्व हुनुहुन्छ भने अर्यालले युथ पार्लियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाका सवालमा काम गर्दै आउनुभएको छ । जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन सेयर, जिपिएस ट्र्याकिङ, भुक्तानीका लागि खल्तीलगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवालगायतका सुविधा रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्ने, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरू जोकोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपत्कालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरूले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलवा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्यांकर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने जाउँ गुरुका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिनुभएको छ । नेपाली युवाले नेपालका लागि नेपालमै बनाइएको एप भएकाले एप प्रयोगकर्ता र राइडरका लागि समेत एप प्रयोग गर्न सहज हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?