जुत्ता सिलाउने रामहरूको कथा : भन्छन्- ‘सीपको सम्मान भएन’

हिमालय टाइम्स
Read Time = 11 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलमाढीको बस पार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका ४३ वर्षीय नथुनी राम । जुत्ता–चप्पलको तलुवा फेर्नु, टल्काउनु, च्यातिएको सिउनु र चुँडिएको जोड्नु उहाँको पेसा हो । यो पेसाले उहाँलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसैगरी दुई दशक बितिसकेको उहाँ बताउनुहुन्छ ।

हजुरबाले गर्दै आएको कामलाई बुबाले निरन्तरता दिनुभयो । रोगले थलिएर उमेरमै बुबाको मृत्यु भएपछि जेठो सन्तानका रूपमा जन्मनुभएका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ््लेख गर्न नपाउनुभएको उहाँ सानै उमेरमा बुबाले गर्दै आएको पेसा अंगाल्न बाध्य हुनुभयो ।

यो पेसा सुरु गर्दा उहाँ १६ वर्षे ठिटो हुुनुुहुन्थ्यो । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउनुहुन्थ्यो । महोत्तरीबाट २० रुपैयाँ गाडीभाडा तिरेर माढीबजार आएको उहाँलाई हिजो जस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपना जस्तो लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा आमुल परिवर्तन भएको छ । त्यतिबेला यहाँ काठका घरहरू पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जंगल थियो । बस पार्कमा एउटा मात्र काउण्टर थियो । दैनिक दुई/चारवटा मात्र बस चल्थे ।

समय सधैँ कहाँ एकैनास हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढी बजारको रङ बदलियोे । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरू बन्दै गए । जंगल गाउँ हुँदै शहरमा परिवर्तन भयो । सवारी साधनको चाप बढ्यो । काउण्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपास लगायतका उपभोग्य सामग्रीहरूको मूल्य आकाशियो । समय पूरै परिवर्तन भयो । उहाँ भन्नुहुन्छ, तर हाम्रा दुःख ज्यूकाँ त्यू छन् । मिहिनेत र संघर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।’

आधुनिक प्रविधिको जमानामा पनि उहाँको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उहाँले आफ्नो जीवनशैली परिवर्तन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने उहाँ बताउनुहुन्छ । ‘मेरो छोरो र भाइहरू सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेको छैन,’ बुबाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिन,’ उहाँले भन्नुभयो ।

जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पु¥याउनै धौधौ हुने उहाँको भनाइ छ । ‘कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनुपर्छ । पाँचजनाको परिवालाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुँनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०/१५ हजार पनि हुँदैन,’ उहाँले सुनाउनुभयो ।

नथुनीको भाइ ३९ वर्षीय राजकुमार रामको कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा पर्नुभयो । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत जानुभयो । पढलेख नभएको उहाँलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढ्लेख नभएकै कारण गर्न सक्नुभएन । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउन लगायतको (जो अहिले गरिरहनु भएको) सीप सिकेर गर्ने निर्णयमा पुग्नुभयो । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरूले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उहाँले बताउनुभयो ।

राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । अर्डरअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उहाँले सुनाउनुभयो । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उहाँको भनाइ छ । ‘सटर लिएर पसल खोल्नसमेत नसकेर धुलोधुवाँ, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ,’ उहाँले भन्नुभयो, ‘पसल खोल्न पैसा छैन । बिना धितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ?’ उहाँले दुःखेसो पोख्नुभयो ।

जुत्ता चप्पल सिलाउँदा सिलाउँदै रोगले थला परेका बुबाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नुभएन । आमाको पनि दुखद निधन भयो । एकजना दाइले जुत्ता सिलाएको कमाइले पेटभरी खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो । उहाँले विगतलाई सम्झिँदै भन्नुभयो, ‘नपढेता पनि सीप सिकेको छु । ‘यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।’

यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उहाँले सुनाउनुभयो । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उहाँले बताउनुभयो ।

जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदासमेत केही सहयोग लिन नसकेको उहाँको गुनासो छ । मिसिन लगायतका आवश्यक सामान किन्न तीन लाख मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्र्थे भन्ने उहाँलाई लागेको छ ।
नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका ४२ वर्षीय विन्देश्वर रामको तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष बिताएर आफ्नो देश फर्किनुभएका उहाँले बुबाले गर्दै आएका पेसालाई निरन्तरता दिनुभएको हो । छोरा सञ्जय राम र भतिजा विजय राम पनि यतै जुत्ता सिलाउने काम गर्नुहुन्छ । बुबा दुखाराम ७० वर्षको उमेरमा पनि अझैसम्म यही काम गरिरहनु भएको उहाँले बताउनुभयो ।

सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उहाँहरू सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौं या त भारतका बजारमा लिन जानुपर्छ । स्थानीय सरकारले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हस्ताको शनिबार ५० रुपैयाँका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका-६ बैरियाका नागेन्द्र रामले बताउनुभयो ।

यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेबापत प्रत्येक दिन प्रतिव्यक्ति २० रुपैयाँ तिर्नुपर्ने उहाँले जानकारी दिनुभयो । ‘जनताको अभिभावक सरकारले करमात्र खोज्छ । हाम्रो जीविकोपार्जन सहजताको लागि केही गर्दैन,’ उहाँले भन्नुभयो । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरूको सीपलाई सम्मान नगरेको उहाँको भनाइ छ । यो र यस्तै सिपलाई व्यवस्थापन, संरक्षण, प्रवर्धन गर्न सके स्थानीयस्तरका धेरै युवाहरूले रोजगारी पाउने उहाँको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उहाँले बताउनुभयो । नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष बित्यो ।

यो रामहरूको पुर्खौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उहाँहरूको पेसाले सम्मान पाउन सकेको छैन । उहाँहरूको सीपलाई संरक्षण तथा प्रवर्धन गरी व्यावसायिक रूपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?