बाढीले राजमार्ग बन्द भएपछि जुम्लाबाट पैदल हिँडेर सुर्खेत

हिमालय टाइम्स
Read Time = 6 mins

विजय रावत
जुम्ला । गएको असोज १९ गतेदेखी परेको अविरल एक साताको वर्षाले जुम्लमा ठुलो धनजनको क्षतीदेखी कर्णाली राजमार्गमा पुर्णरुपमा क्षती गरेको छ । अहिले राजमार्ग बन्दहुदाँ कर्णालीका नागरिकलाई सास्ती भएको छ । हवाईमार्ग नियमित रुपमा उडान नहुदाँ झन जुम्लीलाई पीडामा पीडा थपिएको छ । “सोह्र वर्षअघि हिँडेको जुम्ला-कालीकोट र दैलख हुँदै सुर्खेत पुग्ने बाटो निकै बिरानो भइसकेको रहेछ । पत्ता लगाएर हिँड्न सफल भयौँ । यात्रा कठिन भयो तर त्यसले फरक अनुभूति गरायो,” जुम्ला चन्दननाथ नगरपालिका-७ जुम्ला मिचा गाउँ निवासी धनवीर नेपालीले भन्नुभयो,“गएको शनिबार पाँच दिन लगाएर सुर्खेत पुगेँ । कात्तिक ६-१० गते काठमाडौँमा हुने विभिर्स इस्टर्न मण्डलीको महाभेलामा पुग्नका लागि नेपाली पैदल हिँडेर सुर्खेतमा पुगेकाे बताउनुभयाे । असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कर्णाली राजमार्ग ठप्प भएपछि पैदल यात्रा हिँड्नु परेको उहाँले बताउनुभयो ।

“शक्ति र पहुँचवालाहरुको हवाइजहाज यात्रा हुँदा पहुँचविहीनहरु भने यतिबेला तल झर्न पैदल बाटो हिँडेरै कष्टकर यात्रा गरिरहेका छन । नेपालीले जुम्लादेखि कालीकोटको गाल्जे, चिल्खाया, भलायपानी, पाद्मघाट, महावु लेक पार गरी दैलेखको ऊनपाटा, नाउली, महावसैनी, ओखरपाटा, छान्ना, औलजिरा, कालीमाटी, खुर्सानीबाडी, दैलेख बजार, चुप्रा, डुङ्गेश्वर, तालपोखरी, गाइबान्ना, गुराँसे हुँदै सुर्खेत पुगिएको उहाँले जानकारी दिनुभयो । बिरानो भइसकेका बाटोहरुमा उकालीओराली गर्दा कष्ट र फरक अनुभूति भए पनि गन्तव्य पुर्‍याउन ती बाटोहरु सहयोगी भएको उहाँको भनाइ थियो ।

त्यस्तै, तातोपानी गाउँपालिका-१ जुम्ला राँका गाउँ निवासी रत्न सार्कीले पनि पैदल यात्राबाटै सुर्खेत पुग्नुभयाे । नेपाली सेनाको नौ महिने तालिममा रहनु भएका उहाँलाई असोज २२ गते नै नेपालगञ्ज पुग्नुपर्ने थियो । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएपछि नेपालगञ्ज पुग्न समस्या भयो । हवाई जहाजको टिकट पाउने अवस्था नभएपछि हिँड्न बाध्य भएको सार्कीले बताउनुभयो । जाजरकोट जिल्ला निवासी लोकेन्द्र रावलले असोज ४ गतेसम्म काठमाडौँ पुग्नपर्ने बाध्यता आइलागेपछि आजबाट पैदल यात्रा सुरु गरेको बताउनुभयो ।

“जुम्लामा हामी जस्ता सामान्य वर्गलाई टिकट पाउने अवस्था नै छैन”, दुखेसो पोख्दै उहाँले भन्नुभयो, “राजमार्ग खुल्न अझ धेरै समय लाग्ने र प्लेन टिकट पनि नपाउने अवस्था भएपछि हिँड्नुको विकल्प देखेनौँ अनि पैदल यात्रा सुरु गर्‍याैं ।” त्यसैगरी, काठमाडौँ यात्राका लागि सुर्खेतसम्मको पैदल यात्रामा हिँडेका जुम्ला चन्दननाथ नगरपालिका निवासी जगत नेपाली, पातारासी गाउँपालिकाका मुनबहादुर नेपाली र तातोपानी गाउँपालिकाका जनकबहादुर रावतले विगतमा हिँडेका बाटो पछ्याएर सुर्खेत पुग्ने गरी पैदल यात्रा सुरु गरिएको बताउनुभयो । विगतमा कोभिड लागेर कमजोर बनेका पातारासी गाउँपालिकाका नेपाली भने पैदल यात्रका क्रममा लेक लाग्ने कुराले चिन्तित हुनुहुन्छ ।

प्राकृतिक विपद्को वितण्डाले कर्णाली प्रदेशमा विशेष गरी माथिल्लो कर्णालीका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा जनधनको ठूलो क्षति गराएको छ । कर्णाली राजमार्गअन्तरगत सुर्खेत-दैलेख सडकखण्ड खुले पनि कालीकोट-जुम्ला सडकखण्ड बाढी र पहिरोले तहसनहस भएको र खुल्न केही समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका डिभिजन प्रमुख राजीव श्रेष्ठले हिमालय टाइम्सलाई बताउनुभयो ।

कालीकोट सडकखण्डमा आजभोलि पनि नयाँ पहिरो आइरहेको छ,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी कालीकोट तिलागुफा गाउँपालिकाको राँचुलीदेखि मान्म खाँडाचक्र नगरपालिकाको पिलीसम्म सडक क्षतिग्रस्त अवस्थामा छ । हामीले जुम्लादेखि काम गर्दा नाग्मदेखि करिब दुई किलोमिटर र कालीकोटको दही खोलादेखि सेरीघाटसम्म खोलेका छौँ ।” सबै कुराले साथ दिएसम्म १० दिनमा सडक सुचारु हुने अन्यथा अझै समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?