फूलको निर्यात प्रवद्र्धनमा जोड

Read Time = 9 mins

काठमाडौं । रोपेर फूल गोदावरी, सजाऔं घर आँगनवरिपरि भन्ने नाराका साथ बिहीबारदेखि ललितपुरको जावलाखेल खेलमैदानमा गोदावरी पुष्प मेला सुरु भएको छ । गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार पुष्प क्षेत्रमा लगानी बढ्न नसकेको बताउनुभयो । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पतिको खेतीका साथै निर्यातसमेत गर्न सकिने उहाँको भनाइ छ ।

अध्यक्ष गोल्छाले भन्नुभयो, ‘पुष्प क्षेत्रको लगानीबाट बढी प्रतिफल लिन सकिन्छ, नेपाली फूल हिमालयन फ्लावर नाममा विश्व बजारमा बिक्री पनि गर्न सकिन्छ तर पनि यसमा ठूलो लगानी भएको देखिँदैन, नीतिगत सुधार गरेर लगानी पनि बढाउन सकिन्छ ।’ धार्मिक, सांस्कृतिक, सामाजिक महत्वको फूलले नेपालको अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याउन सक्ने उहाँको भनाइ छ । अध्यक्ष गोल्छाले भन्नुभयो, ‘नेदरल्याण्ड फूल बेचेर धनी भएको छ । नेदरल्याण्डले विश्वभर चार बिलियन डलरको फूल निर्यात गर्छ । नेपाल पनि त्यस्तै सम्भावना भएको मुलुक हो ।’

वरिष्ठ कलाकार हरिवंश आचार्यले फूलजस्तो पवित्र वस्तुको व्यवसाय गर्ने व्यवसायीले आफूमात्रै नभई अरूलाई पनि खुशी र आनन्द दिएको बताउनुभयो । जन्मदेखि मृत्युसम्म, पूजाका साथै हरेक सुख, दुःखमा प्रयोग हुने फूल सबै जातजाति र धर्म, संस्कृतिमा नभइनहुने भन्दै उहाँले तनाव न्यूनीकरणमा समेत फूल निकै उपयोगी रहेको बताउनुभयो । जापानी वृद्धवृद्धाहरूले धेरैजसो समय फूल बगंैचामा बिताउने गरेका कारण पनि उनीहरूको आयु लामो हुने गरेको उहाँको भनाइ छ ।

कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले पछिल्लो समय सरकारको लगानी बढी मुख्य खाद्यबालीहरूमा केन्द्रित रहेका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको भन्दै पुष्प क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । आत्मनिर्भरोन्मुख पुष्प क्षेत्रको प्रवद्र्धनका लागि विभाग सहजीकरण गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । वनस्पति विभागका महानिर्देशक डा. राधा काफ्लेले नेपालमा वर्षैभरि फुलिरहने गोदावरी फूलको प्रविधि विभागले विकास गरेको भन्दै गोदावरी फूलको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको पनि जानकारी गराउनुभयो ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले संघीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गर्नुभयो । उहाँले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुष्प प्रवद्र्धन नीति अहिले पनि पूर्णरूपमा कार्यान्वयनमा आएको छैन, अब त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ, त्यसैले पुष्प नीतिको पुनर्लेखन नै हुनुपर्छ ।’ अध्यक्ष तामाङले सरकारको उपेक्षाका कारण अझै पनि पुष्प क्षेत्र पूर्ण आत्मनिर्भर बन्न नसकेको भन्दै नीतिगत सुधार र पूर्वाधारमा जोड दिएमा निर्यात पनि बढाउन सकिने बताउनुभयो । नेपालमा पुष्पखेतीका लागि हालसम्म पनि हाइब्रिड बिउ र टिस्यु कल्चर बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसक्दा बढी माग हुने समयमा आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका डा. रामानन्द तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रञ्जनकुमार श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मेलामा विभिन्न विधामा उत्कृष्ट नर्सरी तथा स्टललाई पुरस्कृत गरिएको थियो । सम्झना नर्सरी, थापा नर्सरी र टिटिआर बंगलामुखी नर्सरीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट रिफ्लेक्स, उत्कृष्ट स्पाइडरतर्फ पनि सम्झना नर्सरी नै पुरस्कृत भएको छ भने उत्कृष्ट इन्कर्पतर्फ थापा नर्सरी पुरस्कृत भएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजित मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहेको मेला संयोजक सीताराम पन्तले जानकारी दिनुभएको छ । मेला चार दिनसम्म सञ्चालन हुनेछ । फ्यानका महासचिव विश्वमणि पोखरेलका अनुसार हाल ४८ जिल्लामा लगभग एक सय ७८ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय सञ्चालन भइरहेको छ भने सात सय ३२ भन्दा बढी पुष्प व्यवसायी संलग्न रहेका छन् । पुष्प व्यवसायमा छ अर्बभन्दा बढी लगानी रहेको छ ।

प्लाष्टिकजन्य फूल कारोबार गर्नेलाई कारबाही
सरकारले प्लाष्टिकजन्य फूलगुच्छाको आयात तथा बिक्रीवितरण नगर्न पुनः सचेत गराएको छ । वातावरण विभागले बिहीबार एक सूचना जारी गरी बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न भनेको हो । विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्रीवितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ सुरु गरिएको जानकारी दिनुभएको छ । तिहार र छठजस्ता पर्वमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्री गरेको अनुगमनमा भेटिएमा तत्काल एक लाख रुपैयाँसम्म जरिवाना गरिने उहाँले बताउनुभयो । सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारणमा रोक लगाएको थियो । फ्यानले पनि प्लाष्टिकजन्य फूलको अनुुगमन गरी कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दबाब दिँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?